• २०८३ असार ७
  • 2026 June 21, Sunday

रास्वपा महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि सहभागी हुने, छोरी र श्रीमतीसहित पुगे प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगेका छन् ।

प्रधानमन्त्री शाह श्रीमती सविना काफ्ले र छोरीसहित आइतबार बिहान चितवन पुगेका हुन् ।

उनले आज रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने बताइएको छ ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि सहभागी हुने भएका छन् ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले ७ प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट चुनिएका ४ हजार २११ महाधिवेशन प्रतिनिधिको नामावली सार्बजनिक गरेको हो ।

आयोगले प्रतिनिधिको विवरण सच्याउनु पर्ने वा प्रकाशित नामावलीमा विरोध भएमा महाधिवेशन सचिवालय प्रदर्शनी स्थलमा सम्पर्क राख्न आग्रह गरिएको छ ।

रास्वपाको महाधिवेशनमा ३३ देशका प्रवास सम्पर्क विभागबाट १७० जना, विधानअनुसार पार्टी सभापतिबाट १३८ जना प्रतिनिधि मनोनित भएका छन् । त्यस्तै समूहगत रूपमा पार्टी प्रवेश गरेका १९२ जनालाई प्रतिनिधि बनाइएको छ ।

त्यस्तै, यस महाधिवेशनमा कोशी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा चयन भएका छन् ।

त्यसैगरी, महाधिवेशन प्रतिनिधिकारूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित ५ जना प्रतिनिधि रहेका छन् भने प्रदेश समितिका सबै सदस्यहरू, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी पनि प्रतिनिधि बनेका छन् ।

त्यस्तै, सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ विभागबाट ११-११ जना, केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट ११-११ जना महाधिवेशन प्रतिनिधि बनेका छन् । त्यस्तै केन्द्रीय समितिमा नरहेका सांसदहरु पनि महाधिवेशन प्रतिनिधि भएका छन्।

त्यस्तै, प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि छानिएको छ । त्यस्तैगरी, प्रदेश सम्पर्क विभागबाट तीन-तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि छानिएको छ ।

गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट पराजित तथा समानुपातिक सूचीका व्यक्ति पनि प्रतिनिधि भएका छन् । त्यसैगरी, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित समानुपातिक सूचीमा रहेका पनि प्रतिनिधि बनेका छन् ।

आजदेखि शुरु हुने रास्वपाको महाधिवेशनकको आयोगले निर्वाचन तालिका समेत सार्बजनिक गरिसकेको छ । जस अनुसार निर्वाचन कार्यक्रम मंगलबारसम्म हुने छ ।