• २०८३ असार १३
  • 2026 June 27, Saturday

गणेश पराजुलीको राजनीतिक त्याग : संगठनलाई प्राथमिकतामा राख्दै विपिनकुमार आचार्यलाई समर्थन

काठमाडौं । पार्टीभित्रको एकता कायम राख्न, अनावश्यक ध्रुवीकरण रोक्न र साझा सहमतिको वातावरण निर्माण गर्न गणेश पराजुलीले देखाएको राजनीतिक परिपक्वता अहिले चर्चाको विषय बनेको छ।

महामन्त्री पदका आकांक्षीहरूबीच सहमति खोज्ने प्रयास चलिरहेका बेला केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा विभिन्न तहका नेता–कार्यकर्ताहरूले पराजुलीलाई उम्मेदवारी दिन आग्रह गरेका थिए। तर कविन्द्र प्रमोदलगायतका नेताहरूले विपिनकुमार आचार्यलाई महामन्त्री पदका लागि समर्थन गर्ने साझा धारणा बनाएपछि पराजुलीले पनि त्यसलाई स्वीकार गर्दै आचार्यको पक्षमा उभिने निर्णय गरे।

राजनीतिक वृत्तमा यो निर्णयलाई सामान्य समर्थनभन्दा पनि संगठनको हितका लागि गरिएको त्यागका रूपमा हेरिएको छ। व्यक्तिगत रूपमा निकट सम्बन्ध रहेका साथीहरूको अपेक्षा र आग्रहलाई समेत पछि पार्दै पराजुलीले पार्टीभित्रको एकता र सहकार्यलाई प्राथमिकता दिएको बताइन्छ।

यो कदमले पद प्राप्तिभन्दा संगठन सुदृढीकरण महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको कार्यकर्ताहरूको भनाइ छ। पार्टीभित्र सामूहिक नेतृत्व, आपसी विश्वास र सहकार्यको संस्कृतिलाई बलियो बनाउन पराजुलीको भूमिकाले सकारात्मक योगदान पुर्‍याएको टिप्पणी भइरहेको छ।

राजनीतिमा महत्वकांक्षा स्वाभाविक मानिए पनि आवश्यक पर्दा व्यक्तिगत चाहना त्यागेर संगठनको दीर्घकालीन हितलाई केन्द्रमा राख्नु नै परिपक्व नेतृत्वको परिचय हुने विश्लेषकहरूको धारणा छ। यही कारण गणेश पराजुलीको निर्णयलाई धेरैले ‘राजनीतिक त्याग’ र ‘संगठनप्रतिको प्रतिबद्धता’ को उदाहरणका रूपमा लिएका छन्।

पार्टी ठूलो कि व्यक्ति भन्ने प्रश्न उठिरहेका बेला गणेश पराजुलीले आफ्नो व्यवहारमार्फत स्पष्ट सन्देश दिएका छन्— व्यक्तिगत आकांक्षाभन्दा संगठनको एकता ठूलो हुन्छ। यही त्याग र परिपक्वताले आगामी दिनमा पार्टीलाई थप बलियो र एकताबद्ध बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।