• २०८३ असार १८
  • 2026 July 02, Thursday

ब्रिटिस काउन्सिलको ‘कल्चरल प्रोटेक्सन फन्ड’ मार्फत अनुदानका लागि आवेदन खुला

काठमाडौँ । ब्रिटिस काउन्सिलले दक्षिण एसियाली क्षेत्रमा सांस्कृतिक संरक्षणका लागि ‘कल्चरल प्रोटेक्सन फन्ड’ (CPF) मार्फत नयाँ चरणको अनुदान आवेदन खुला गरेको छ। खासगरी द्वन्द्व र जलवायु परिवर्तनका कारण जोखिममा परेका सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्ने उद्देश्यले नेपाल सहित १७ वटा देशका लागि यो सहायता घोषणा गरिएको हो।

नेपालमा यो कोष सञ्चालन भएको १० वर्ष पूरा भएको अवसरमा ब्रिटिस काउन्सिलले थप परियोजनाहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यसअघि नै यो कोषमार्फत नेपालका विभिन्न क्षेत्रमा महत्वपूर्ण कार्यहरू भइरहेका छन्।

हाल यस कोषले नेपालमा मैथिली महिलाहरूले तयार पार्ने भित्तेचित्र र मूर्तिकला संरक्षणका लागि ५०,००० पाउन्ड स्टर्लिङ, डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रको सांस्कृतिक सम्पदा संरक्षणका लागि ३६,९०८ पाउन्ड, कुसुण्डा जातिको भाषा र संस्कृति संरक्षणका लागि ४५,९६३ पाउन्ड र आदिवासी खाद्य सम्पदा संरक्षणका लागि ५०,००० पाउन्ड स्टर्लिङ बराबरको अनुदान प्रदान गरिसकेको छ।

अनुदान घोषणाका अवसरमा ब्रिटिस काउन्सिल नेपालका राष्ट्रिय निर्देशक रुस्तम मोदीले सांस्कृतिक सम्पदाले समुदायको कथा र पहिचान बोक्ने भएकाले यसको संरक्षण आगामी पुस्ताका लागि अनिवार्य रहेको बताए। उनका अनुसार इच्छुक व्यक्ति वा संस्थाहरूले अधिकतम ५ लाख पाउन्ड स्टर्लिङसम्मको अनुदानका लागि आवेदन दिन सक्नेछन्। यस कार्यक्रमले व्यक्तिको सीप विकास र अन्तर्राष्ट्रिय जगतमा सम्बन्ध विस्तारमा समेत सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

यस अनुदानका लागि इच्छुक व्यक्ति वा संस्थाले २० जुलाई २०२६, सोमबार राति ११ : ५९ बजेसम्म आवेदन दिइसक्नुपर्नेछ। आवेदन दिनुअघि कल्चरल प्रोटेक्सन फन्डको आधिकारिक वेबसाइटमा उपलब्ध निर्देशिका र ‘बारम्बार सोधिने प्रश्नहरू’ (FAQs) अध्ययन गर्न आग्रह गरिएको छ। थप जानकारीका लागि [email protected] मा सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

कल्चरल प्रोटेक्सन फन्ड संयुक्त अधिराज्य (युके) को ‘डिपार्टमेन्ट फर कल्चर, मिडिया एन्ड स्पोर्ट’ (DCMS) सँगको साझेदारीमा सन् २०१६ देखि सञ्चालनमा छ। यसले हालसम्म विश्वका २० देशमा १६० वटा परियोजनालाई सहयोग पुर्‍याइसकेको छ। दक्षिण एसियामा नेपालसँगै बंगलादेश र पाकिस्तान पनि यस कार्यक्रमका लागि योग्य देशहरू हुन्।