• २०८३ साउन ४
  • 2026 July 20, Monday

लगातार दोस्रो विश्वकपमा एम्बाप्पेले जिते गोल्डेन बुट

काठमाडौँ । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे विश्वकप फुटबलको इतिहासमा दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् ।

सन् २०२६ को विश्वकपमा एम्बाप्पेले आठ खेलमा १० गोल गर्दै प्रतियोगिताका सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले आठ गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई पछि पार्दै गोल्डेन बुट जितेका छन् ।

यसअघि कतारमा भएको सन् २०२२ को विश्वकपमा पनि एम्बाप्पे आठ गोलसहित सर्वाधिक गोलकर्ता बनेका थिए । लगातार दुई संस्करणमा गोल्डेन बुट जित्ने उनी पहिलो खेलाडी हुन् ।

२७ वर्षीय एम्बाप्पे सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि एकै विश्वकपमा १० वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी पनि बने ।

एकै संस्करणमा फ्रान्सका जस्ट फोन्तेनले सन् १९५८ मा १३ तथा हंगेरीका सान्दोर कोचिसले सन् १९५४ मा ११ गोल गरेका थिए ।एम्बाप्पे पुरुष विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता पनि बनेका छन् । उनको नाममा अहिले २२ गोल पुगेका छन्, जुन मेसीभन्दा एक गोल बढी हो ।

तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डविरुद्ध दुई गोल गरेपछि उनले मेसीलाई उछिनेका थिए । यद्यपि फ्रान्स ६-४ ले पराजित हुँदै चौथो स्थानमा सीमित भयो ।

एम्बाप्पेले समूह चरणमा सेनेगल र इराकविरुद्ध दुई-दुई गोल गरेका थिए । त्यसपछि अन्तिम ३२ मा स्विडेनविरुद्ध गोल गरे भने अन्तिम १६ मा पाराग्वेविरुद्ध पेनाल्टीमार्फत निर्णायक गोल र क्वार्टरफाइनलमा मोरक्कोविरुद्ध पनि गोल गरेका थिए ।

विश्वकप फाइनलमा मेसीसँग ह्याट्रिक गर्दै एम्बाप्पेलाई उछिन्ने अवसर थियो । तर स्पेनसँग १-० ले पराजित भएको खेलमा उनले गोल गर्न सकेनन् । मेसीले प्रतियोगिता आठ खेलमा आठ गोलसहित समाप्त गरे ।

यस संस्करणमा इंग्ल्यान्डका जुड बेलिङ्घम र नर्वेका एर्लिङ हालान्डले समान सात गोल गरे । फ्रान्सका उस्मान डेम्बेले र इंग्ल्यान्डका कप्तान ह्यारी केनले समान छ-छ गोल गरेका थिए ।