• २०८३ साउन १०
  • 2026 July 26, Sunday

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवनको शिलान्यास, करिब २ करोडको लागतमा निर्माण हुने

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा नयाँ विद्यालय भवनको निर्माण कार्य सुरु भएको छ । भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि आज आयोजित एक विशेष समारोहका बीच शिलान्यास गरिएको हो ।

काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रूपमा भवनको शिलान्यास गरे।

भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत करिब १ करोड ९० लाख लागतमा यो भवन निर्माण हुन लागेको हो । यो परियोजना भीमदत्त नगरपालिका मार्फत कार्यान्वयन गरिनेछ । कञ्चनपुर जिल्लामा भारत सरकारको सहयोगमा सञ्चालित यो ११ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

शिलान्यास समारोहमा बोल्दै भीमदत्त नगरपालिकाका उपप्रमुख जोशीले नेपालको विकासमा भारतले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरे । नयाँ पूर्वाधार निर्माणसँगै विद्यालयका विद्यार्थी र शिक्षकहरूका लागि गुणस्तरीय सिकाइको वातावरण सृजना हुने विश्वास उनले व्यक्त गरे ।

नेपाल र भारतबीचको बहुक्षेत्रीय सहकार्य र मित्रतालाई थप प्रगाढ बनाउन यस्ता परियोजनाहरूले महत्वपूर्ण भूमिका खेल्ने भारतीय दूतावासले जनाएको छ ।