• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

आर्थिक समृद्धिसँगै मानसिक सन्ताप बढ्दै गएकाले ध्यान र योगको आवश्यक छ : स्वामी आनन्द

काठमाडौं । स्वामी आनन्द अरुणले आर्थिक समृद्धिसँगै मानसिक सन्ताप बढ्दै गएको भन्दै ध्यान र योगको आवश्यकता झन् बढेको बताएका छन् ।

आइतबार आयोजित दोस्रो विश्व ध्यान दिवस–२०२५ को मूल समारोहलाई सम्बोधन गर्दै उनले विकसित राष्ट्रहरूमा मानसिक समस्या गम्भीर बन्दै गएको उल्लेख गरे ।
उनले भने, ‘मैंले देखिरहेको छु, जुन राष्ट्र आर्थिक रूपमा जति समृद्ध हुन्छ, त्यति नै मानसिक सन्ताप बढिरहेको छ ।

त्यसैले युरोप र अमेरिकामा ध्यानको आवश्यकता अझ बढी छ ।’ ती देशहरूमा नेपालीहरूले ध्यान अभियान सञ्चालन गरिरहेकोप्रति उनले गर्व गरे ।

स्वामी अरुणका अनुसार हाल विश्वका ६० देशका व्यक्तिहरू नेपाल आएर ध्यानको प्रशिक्षण लिइरहेका छन् । ‘उहाँहरू प्रत्येक वर्ष यहाँ आएर प्रशिक्षक बनेर आफ्ना–आफ्ना देशमा ध्यान सिकाइरहनुभएको छ,’ उनले भने ।

अप्रत्यक्ष तपोवनमार्फत हाल ९० वटा केन्द्रबाट ध्यान र योगको प्रचार–प्रसार भइरहेको उनले जानकारी दिए ।

उनले ध्यान, योग र प्राकृतिक उपचार क्षेत्रमा नेपाल सरकारले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए । यस सन्दर्भमा उनले नेपाल सरकारसमक्ष तीनवटा मुख्य आग्रहसमेत राखे ।

स्वामी अरुणले योग, ध्यान, प्राकृतिक उपचार, आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिहरू हेर्ने छुट्टै मन्त्रालय नै नरहेकोप्रति चिन्ता व्यक्त गरे ।

‘योग, ध्यान, प्राकृतिक उपचार, आयुर्वेद अल्टनेट मेडिसिनका अनेक उपाय छन् यसलाई हेर्ने कुनै मन्त्रालय नै छैन । स्वास्थ्यमा हुने खर्च सबै एलोप्याथीमा मात्रै भइरहेको छ । हाम्रो आफ्नो उपचारको तिब्बती प्रद्धती छ, आफ्नै पनि प्रद्धती छ । त्यसको सम्बर्धन कसले गर्ने त्यसको लागि राज्य नै छैन,’ उनले भने ।

भारतमा आयुर्वेद तथा वैकल्पिक चिकित्साका लागि छुट्टै मन्त्रालय स्थापना गरिएको उदाहरण दिँदै उनले नेपालमा पनि यस्तै संरचना आवश्यक रहेको बताए ।
‘भारतले मन्त्रालय बनाएर राखे झैं नेपाल सरकारसँग आग्रह एउटा अभिभावक हामीलाई पनि दिनुहोस ।

हामी कहाँ जाने रु कहिले शिक्षा मन्त्रालय जानुपर्छ, कहिले स्वास्थ्य मन्त्रालय जानुपर्छ कहिले अर्थमन्त्रालय जानुपर्छ,’ उनले प्रश्न गरे ।

उनले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको संरचना विकासका लागि छुट्टै मन्त्रालय स्थापना गर्न नेपाल सरकारसँग आग्रह गर्दै भने, ‘जहाँ गएर हामीले आफ्ना गुनासा पोख्न सकौं ।’

उनले अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ध्यानका लागि कक्ष निर्माण गर्नुपर्ने बताए ।