• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भारतको हिमाचलमा ग्यास सिलिण्डर पड्किँदा ९ जना नेपालीको मृत्यु

काठमाडौं । भारतको हिमाचलमा ग्यास सिलिण्डर पड्किँदा ९ जना नेपालीको ज्यान गएको छ ।

हिमाचलको सोलान जिल्ला अर्कीमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का ९ जना नेपालीको ज्यान गएको हो । राति सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर विस्फोट भएको थियो ।

सिद्धकुमाख गाउँपालिका–२ का वडाध्यक्ष मेघराज बुढाथोकीका अनुसार ज्यान गुमाउनेहरु स्थानीय धनबहादुर र काशीराम विकका परिवार रहेका छन् । ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी १६ वर्षीया राधा विक, १० वर्षीया रेणुका विक र राजन विकको ज्यान गएको हो ।

त्यस्तै, ४७ वर्षीय काशिरामसहित उनकी श्रीमती ३२ वर्षीया टीका विक, छोरी १२ वर्षीया अनु विक र छोरा ७ वर्षीय किरण विकको ज्यान गएको वडाध्यक्ष बुढाथोकीले निकालेको विज्ञप्तिमा उल्लेख छ । वडाका दुई परिवारका ९ जना सदस्यको ज्यान गएपछि मंगलबार वडा नम्बर २ मा शोक बिदा दिइएको छ ।

साथै ज्यान गएका परिवारको शव ल्याउन आवश्यक सम्पूर्ण खर्च पालिकाले नै बेर्होने र काजक्रिया खर्चको व्यवस्था पनि गर्ने पालिकाले निर्णय गरेको छ । भारतीय सञ्चारमाध्यमले हिजो राति ग्यास सिलिण्डर पड्किएर आगलागी भएको जनाएका छन् । आगलागीबाट १५ वटाभन्दा धेरै पसलमा समेत क्षति भएको छ ।