• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

हामी किन रुन्छौँ ? यस्तो छ आँसु झर्नुको रोचक वैज्ञानिक कारण

हामी कहिले रुन्छौँ ? जब हामी धेरै दुःखी हुन्छौँ, रिस उठ्छ वा धेरै खुसी हुन्छौँ । तर, के तपाईंलाई थाहा छ ? संसारमा मानिस मात्र यस्तो प्राणी हो, जसको आँखाबाट भावनासँग जोडिएका आँसुहरू निस्कन्छन् ।

धेरै जनावरहरूले पीडा वा तनावको संकेत दिन आवाज निकाल्छन्, तर उनीहरूको मस्तिष्कमा भावनासँग जोडिएको आँसु निकाल्ने संयन्त्र हुँदैन । वैज्ञानिकहरूले आँसु किन आउँछ भन्ने कुरा पत्ता लगाए पनि, मानिसमा मात्र भावनात्मक आँसु किन आउँछ भन्ने विषय अझै पूर्ण रूपमा स्पष्ट भइसकेको छैन ।

आँसुका तीन प्रकार

स्विट्जरल्याण्डको ‘इन्स्टिच्युट अफ ह्युमन बायोलोजी’ की डा. मेरी ब्यानियर हेलाउएट भन्छिन्, आँसुमा कफ, इलेक्ट्रोलाइट्स, पानी, प्रोटिन र लिपिड गरी पाँचवटा मुख्य तत्व हुन्छन्। आँसुलाई मुख्यतया तीन श्रेणीमा विभाजन गरिएको छ :

१. बेसल टियर्स : यी आँसु हाम्रा आँखामा सधैं रहन्छन् । यिनले आँखाको तल्लो सतहलाई ओसिलो बनाइराख्ने र आँखालाई सुख्खा हुनबाट जोगाउने काम गर्छन् ।

२. रिफ्लेक्स टियर्स : जब आँखामा धुलोको कण पस्छ वा प्याज काट्दा आँखा पोल्छ, तब यी आँसु आफैं बग्न थाल्छन् । आँखाको कोर्नियामा भएका स्नायु कोशिकाहरूले बाहिरी वस्तु महसुस गर्छन् र मस्तिष्कलाई संकेत पठाउँछन्, जसले गर्दा आँसु निस्कन्छ ।

३. भावनात्मक आँसु : यो सबैभन्दा जटिल प्रक्रिया हो । नेदरल्याण्ड्सको टिलबर्ग विश्वविद्यालयका प्रोफेसर एड विन्गरहोएट्सका अनुसार, रुनु भनेको कुनै एउटा भावना मात्र नभई ‘इमोसनल ओभरलोड’ (भावनामा बहकिनु) को परिणाम हो ।

उमेरसँगै फेरिन्छ रुने कारण

बच्चाहरू शारीरिक पीडाका कारण बढी रुन्छन् । तर, उमेर बढ्दै जाँदा रुने कारणहरू बदलिन्छन् । वयस्कहरूमा रुनु ‘एम्प्याथी’ अर्थात् सहानुभूतिसँग जोडिन्छ । हामी अरूको दुःख देखेर वा प्रकृतिको सुन्दरता जस्ता सकारात्मक कुराहरूले भावुक भएर पनि रुने गर्छौं ।

के रोएपछि मन हलुका हुन्छ ?

धेरैलाई रोएपछि शान्त महसुस हुन्छ । पिट्सबर्ग विश्वविद्यालयकी एसोसिएट प्रोफेसर लरेन बाइल्स्माको अनुसन्धानले देखाएको छ कि रुन सुरु गर्दा हाम्रो शरीरको ‘सिम्प्याथेटिक नर्वस सिस्टम’ (तनाव दिने प्रणाली) सक्रिय हुन्छ । तर, रुन थालेपछि ‘प्यारासिम्प्याथेटिक एक्टिभिटी’ बढ्छ, जसले शरीरलाई शान्त र आराम महसुस गराउन मद्दत गर्छ ।

यद्यपि, यो कुरा परिस्थितमा पनि भर पर्छ । यदि कसैले रुँदा हामीलाई सहयोग वा सहानुभूति दियो भने हामीलाई राम्रो महसुस हुन्छ, तर यदि अरूले गाली गरे वा लाज मान्ने स्थिति आयो भने रोएपछि पनि राहत मिल्दैन ।

आँसु एक ‘सामाजिक संकेत’

वैज्ञानिकहरूका अनुसार आँसुले सामाजिक संकेतको रूपमा काम गर्छ । यसले अरूलाई ‘मलाई मद्दत चाहिएको छ’ भन्ने सन्देश दिन्छ । इजरायलमा गरिएको एक अध्ययन अनुसार, महिलाको भावनात्मक आँसुको गन्ध सुँघ्दा पुरुषहरूमा आक्रामकता कम भएको पाइएको थियो ।

बच्चाहरूको हकमा, उनीहरूको रुवाइले वयस्कहरूको मस्तिष्कमा हेरचाह गर्ने भावना जागृत गराउँछ । यो एक प्रकारको आत्मरक्षा संयन्त्र पनि हो ।

को बढी रुन्छ ?

अध्ययनका अनुसार, पुरुषहरू महिनामा औसतमा शून्यदेखि एक पटक रुन्छन् भने महिलाहरू चारदेखि पाँच पटक रुने गर्छन् । यसको पछाडि हर्मोनल परिवर्तन, व्यक्तित्व र सामाजिक संरचनाको भूमिका हुन सक्छ । जसको हृदयमा अरूप्रति बढी सहानुभूति हुन्छ, उनीहरू छिटो भावुक हुने र रुने सम्भावना बढी हुन्छ ।

अन्ततः, रुनु भनेको संवादको एउटा माध्यम हो। प्रोफेसर विन्गरहोएट्सका अनुसार, रुनु भनेको कुनै कुरामा ‘विस्मयादिबोधक चिन्ह’ लगाउनु जस्तै हो, जसले उक्त कुरा कति महत्त्वपूर्ण छ भन्ने दर्शाउँछ ।