• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

रविको मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णयबारे प्रमाण झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । रवि लामिछाने लगायतको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले थप प्रमाण झिकाउन आदेश गरेको छ ।

न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले आइतबार अन्तरिम आदेश छलफलका लागि अभियोगपत्र संशोधन गर्दा फेला परेको प्रमाण झिकाउन आदेश गरेको हो ।

‘महान्यायाधिवक्ता समेतले ‍बहसको क्रममा अभियोगपत्र दायर भइसकेपश्चात थप प्रमाण फेला परेकाले अभियोगपत्र संशोधन गर्ने निर्णय गरिएको भन्ने जिकिर लिनु भएकोले उक्त अभियोगपत्र संशोधनको सम्बन्धमा फेला परेका थप सक्कल प्रमाण कागजातहरू महान्यायाधिवक्ताको कार्यालयबाट झिकाइ आएपश्चात् नियमानुसार अन्तरिम आदेश छलफलका लागि पेस गर्नु,’ आदेशमा उल्लेख छ ।

महान्यायाधिवक्ता सविता भण्डारी बडालले लामिछानेसहित सबै प्रतिवादीहरूको हकमा सहकारी ठगीको मात्र कायम रहने र संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरेकी थिइन् ।

सोही निर्णय बदर हुनुपर्ने मागसहित युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।