• २०८३ साउन ४
  • 2026 July 20, Monday

अन्तरजातीय विवाह गर्ने तीन जोडी सम्मानित

चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका तीन जोडीलाई सम्मान गरेको छ । महानगरको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिले उनीहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा भरतपुर महानगरपालिका–११ का सुरज परियार र अनुमाया कुमाल, भरतपुर–१३ का राजेश विक र सन्ध्या तामाङ तथा भरतपुर–२ का बद्री बोहरा र सिर्जना विश्वकर्माको जोडी रहेको छ । उनीहरूलाई महानगरले बिहीबार एक कार्यक्रमकाबीच एक जोडीलाई नगद रु एक–एक लाखसहित सम्मान गरेको हो ।

कार्यक्रममा महानगरका कार्यवाहक प्रमुख पार्वती शाह ठकुरीले छुवाछूतको अन्त्य घरबाटै सुरु गर्नुपर्ने बताए । उनले भने, ‘समाजमा रहेको जातीय विभेद हटाउन घर, टोलबाटै अभियान सुरु गर्नुपर्छ ।’ समाजमा रहेको कुरीति अन्त्यका लागि सबै मिलेर लाग्नुपर्ने उनकाे भनाइ थियाे ।

याे अवसरमा भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेल, उत्पीडित दलित वर्ग विकास समितिका पूर्व कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, सामाजिक विकास अधिकृत शान्ता पौडेल, महानगरपालिका–१० का वडा सदस्य माया नेपाली, महानगरको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिका संयोजक चक्र रुचाललगायतले बाेलाएका थिए ।

महानगरले यसअघि पनि अन्तरजातीय विवाह गर्ने तीन जोडीलाई सम्मान गरेको थियो ।