• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

नेतृत्वको अस्तित्व जोगाउन ‘वाम एकता’ को प्रयास गरिँदैछ : सुरेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अहिले बहस चलाइएको वाम एकता नेतृत्वको अस्तित्व जोगाउन भएको टिप्पणी गरेका छन् ।

नेता पाण्डेले नेतृत्वमाथि संकट आइलाग्यो भनेर फेरि बाम एकताको दौडधुपमा रहेको बताउदै हिजो पद प्राप्तिका लागि एकता गरेको र अहिले अस्तित्व जोगाउन एकता गर्ने प्रयास भइरहेको बताएका हुन् ।

उनले भनेका छन्- ‘हाम्रा कतिपय कमरेडहरू नेतृत्वमाथि संकट आइलाग्यो भन्दै फेरि पनि ‘वाम एकता’ को दौडधुपमा हुनुहुन्छ। हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन। तर पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि ?’

पाण्डेले एमाले आफैंमा एउटा बलियो र ऐतिहासिक विरासत बोकेको पार्टी भएको उल्लेख गर्दै तात्कालिक राजनीतिक लाभमात्र हेरेर नहुने र दीर्घकालसम्म यसलाई कसरी सशक्त र एकताबद्ध राख्ने भन्ने सोच्न जरुरी रहेको बताएका छन् ।

उनले विचार र निश्चित गन्तव्य विनाको एकताले अन्ततः पार्टीको मूल्य र मान्यतालाई डाइल्युट मात्र गर्ने बताउदै अहिलेको वास्तविक आवश्यकता पार्टीको पुनार्निर्माण गर्दै क्षमतावान र दक्ष व्यक्तिहरू, विशेषगरी युवाहरूलाई पार्टीमा भित्र्याउनु रहेको स्पष्ट गरेका छन् ।

नेता पाण्डेले विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम भोगिसकेको बताउदै हिजो मौन बस्नु आफूहरुको गल्ती भएको र आज पनि नबोल्नु गम्भीर मूर्खता हुने बताएका छन् ।

पार्टी नेतृत्वलाई स्पष्ट सन्देश दिँदै नेता पाण्डेले एमालेलाई अब सत्ता र स्वार्थको जोडघटाउ होइन, विधि, सुशासन र परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढाउने आँट गर्नुपर्ने बताएका छन् ।