• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

लक्ष्मी सनराइज बैंक र ब्रिटिश इन्टरनेशनलबीच साढे २ करोड अमेरिकी डलर कर्जा सम्झौता

काठमाडौँ । बेलायतको विकास वित्त संस्था ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (बीआईआई) र लक्ष्मी सनराइज बैंकबीच २ करोड ५० लाख अमेरिकी डलर (करिब ३ अर्ब ८२ करोड रुपैयाँ) बराबरको कर्जा सुविधा सम्झौता सम्पन्न भएको छ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) लाई वित्तीय पहुँच विस्तार गर्दै विशेषगरी महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित यो सहकार्य गरिएको हो ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा एमएसएमई क्षेत्रको योगदान करिब २२ प्रतिशत रहेको छ भने यस क्षेत्रले झन्डै २० लाख जनालाई रोजगारी उपलब्ध गराउँदै आएको छ । तर, विश्व बैंक र नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सीमित बैंकिङ पहुँच, जटिल प्रक्रिया तथा उद्यमीको आवश्यकताबीचको अन्तरका कारण औपचारिक वित्तीय प्रणालीबाट केवल १६ प्रतिशत व्यवसायले मात्रै कर्जा सुविधा प्राप्त गर्न सकेका छन् ।

सम्झौताअनुसार लक्ष्मी सनराइज बैंकले एमएसएमई क्षेत्रमा दीर्घकालीन कर्जा लगानी बढाउनेछ । कुल कर्जा सुविधामध्ये ३० प्रतिशत हिस्सा महिला नेतृत्वमा रहेका व्यवसायलाई लक्षित गरिने बैंकले जनाएको छ । यसबाट वित्तीय पहुँचबाट टाढा रहेका उद्यमीलाई पूँजी उपलब्ध गराई रोजगारी सिर्जना, उद्यमशीलता विकास तथा समावेशी निजी क्षेत्र विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बैंकले महिलाको आर्थिक सशक्तीकरणलाई प्रोत्साहन गर्ने विश्वव्यापी ‘२एक्स च्यालेन्ज’ पहलअन्तर्गत मान्यता प्राप्त गरिसकेको छ । बैंकले सुशासन, नेतृत्व, रोजगारी तथा कर्जा प्रवाहमा लैङ्गिक समावेशिता बढाएको आधारमा उक्त मान्यता पाएको हो । बीआईआई पनि यस पहलको संस्थापक सदस्यमध्ये एक हो ।

यसैबीच, बीआईआईको ‘इन्भेस्टमेन्ट फर इम्प्याक्ट नेपाल’ कार्यक्रममार्फत महिला स्वामित्व तथा नेतृत्व भएका व्यवसायलाई सेवा विस्तार गर्न बैंकलाई प्राविधिक सहयोगसमेत उपलब्ध गराइएको छ । बैंकले वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ, जसले दिगोपनासम्बन्धी रणनीति, जिम्मेवार बैंकिङ अभ्यास तथा सामाजिक-वातावरणीय जोखिम व्यवस्थापनलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ ।