• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

७% को आर्थिक वृद्धि लक्ष्य महत्वाकांक्षी छ, असम्भव होइन: योजना आयोग उपाध्यक्ष

  • २०८३ जेठ २२, शुक्रबार १८:४१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले आगामी आर्थिक वर्षका लागि निर्धारण गरिएको सात प्रतिशत आर्थिक वृद्धि लक्ष्य महत्वाकांक्षी देखिए पनि असम्भव नभएको बताएका छन्।

शुक्रबार काठमाडौंमा नेपाल विश्वमामिला परिषद्द्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले १६औँ योजनाको लक्ष्यअनुसार नै आगामी आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरेको बताए।

उनले सात प्रतिशतको आर्थिक वृद्धि लक्ष्यलाई धेरैले महत्वाकांक्षी रूपमा लिन सक्ने भएपनि नेपालको विगतको आर्थिक वृद्धिदरलाई हेर्दा यो लक्ष्य अस्वाभाविक नरहेको उल्लेख गरे ।

उनले भने,‘१६ औं योजनाको जुन लक्ष्य छ । त्यसैको वरपर रहेर आगामि आर्थिक वर्षको बजेटले पनि आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ । आफैंमा सात प्रतिशतको आर्थिक वृद्धि असाध्यै महत्वकांक्षी हो भन्ने लाग्नु स्वभाविक नै हो । तर अहिलेको सन्दर्भमा ४.३ दशमलवको वृद्धिको इतिहास छ । त्यो हेर्दा सात प्रतिशतको वृद्धि धेरै होइन भन्ने लाग्छ ।’

त्यस्तै उनले सामान्य भाषामा बुझ्दा वर्तमान बजेटको मूल लक्ष्य सुशासन र समृद्धिलाई एकसाथ अघि बढाउनु रहेको बताए ।

उनले बजेटमा केही कमजोरी हुन सक्ने स्वीकार गर्दै पछिल्लो डेढ महिनायता आम नागरिक र समाजबाट प्राप्त प्रतिक्रियाले संस्थालाई क्षयीकरण गर्ने प्रवृत्ति भने रोकिएको देखाएको उल्लेख गरे।

उनले भने,‘सामान्य बुझ्ने भाषामा भन्ने हो भने अहिलेको बजेटले सुशासन र समृद्धि दुईवटा कुरालाई सँगै लैजान खोजेको छ । यसको केही कमजोर पक्ष आफ्नो ठाउँमा होला तर पछिल्लो एक डेढ महिनामा आम मानिस र सोसाइटीबाट आएको प्रतिक्रिया हेर्दा संस्थालाई क्षेयीकरण गर्ने काम चाँही रोकिएको छ ।’

  • २०८३ जेठ २२, शुक्रबार १८:४१