सर्वाेच्चले उल्ट्यायाे पूर्वडीआईजी रञ्जन कोइरालाको फैसला

काठमाडाैं । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद सजायमा छुट दिने फैसला उल्टाएको छ ।

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको इजलासले सर्वोच्चले यसअघि कर्तव्य ज्यान मुद्दामा कोइरालाको कैद सजाय घटाएर आठ वर्ष कायम गरेको फैसला उल्टाएको हो ।

बिहीवारको फैसलामा जानाजान श्रीमतीको हत्या गरेको पुष्टि भइसकेकाले कोइरालालाई जन्मकैदको सजायमा सहुलियत दिन नसकिने उल्लेख छ ।

यसअघि २०७७ सालको असारमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहितको संयुक्त इजलासले कोइरालाको जन्मकैदको सजाय घटाएर साढे आठ वर्षको हुने फैसला गरेको थियो । त्यसपछि कोइराला रिहा भइसकेका थिए । त्याे फैसलाको विरुद्धमा मृतक गीता ढकालका बुबाले निवेदन दिएका थिए ।

यसअघि उनी ८ वर्ष ६ महिना कैदमा बसिसकेको कारण अब उनले बाँकी ११ वर्ष ६ महिना जेलमै बिताउनुपर्ने भएको छ ।

कोइरालाले २०६८ सालमा श्रीमतीको हत्या गरेर बोरामा पोको पारेर मकवानपुरको टिस्टुङ जङ्गलमा लगेर पेट्रोल छर्केर जलाएको अनुसन्धानबाट पुष्टि भएको थियो ।

तर कोइरालाले रिसको आवेगमा धकेल्दा श्रीमतीको हत्या भएको बयान दिएको भन्दै तत्कालीन प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कैद सजाय घटाउने फैसला गरेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१