• २०८३ जेठ २८
  • 2026 June 11, Thursday

८.१४ अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ९० करोडमा सीमित

काठमाडौँ। सेनेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.१४ अंकले ओरालो लागेको छ।  बिहीबार नेप्से ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा बन्द भएको हो।

अघिल्लो दिनको तुलनामा कारोबार रकमसमेत घटेको छ। बुधबार ४ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बिहीबार भने ३ अर्ब ९० करोड ६२ लाख रुपैयाँबराबरको मात्रै सेयर किनबेच भयो।

दिनभर ३५० कम्पनीका ९२ लाख ३१ हजारभन्दा बढी कित्ता सेयर ५८ हजारभन्दा बढी कारोबारमार्फत किनबेच भए। बजार घट्दा पनि ८२ कम्पनीको मूल्य बढेको थियो भने १७८ कम्पनीको मूल्य ओरालो लाग्यो। १३ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

बजार समग्र रूपमा कमजोर रहे पनि केही कम्पनीका सेयरमा उल्लेख्य उछाल देखियो। सोपान फर्मास्युटिकल्सको सेयर मूल्य १५ प्रतिशत बढ्दै दिनकै सर्वाधिक कमाउने कम्पनी बन्यो। एपोलो हाइड्रोपावर पनि झन्डै १५ प्रतिशतले बढ्यो। बोटलर्स नेपाल (बालाजु), अपर लोहोरे खोला हाइड्रोपावर र पिपुल्स हाइड्रोपावर पनि बढ्ने कम्पनीहरूको अग्रपंक्तिमा रहे।

यता, गिरावटतर्फ सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै घट्यो। प्रभु बैंक डिबेन्चरमा समेत उल्लेख्य गिरावट देखिएको छ।

कारोबार रकमका आधारमा सिटी होटल लिमिटेड सबैभन्दा अगाडि रह्यो। कम्पनीको २३ करोड ६३ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। सेन्ट्रल फाइनान्स र बुंगल हाइड्रोपावर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

समूहगत प्रदर्शन हेर्दा होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन (म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ) समूह हरियालीमा रहे। बाँकी ११ समूह राताम्मे बनेका छन्। वित्त समूहमा सबैभन्दा बढी दबाब देखिएको छ, जसको परिसूचक करिब १.५ प्रतिशतले घटेको छ।

बजार विश्लेषकहरूका अनुसार सूचकमा ठूलो गिरावट नआए पनि कारोबार रकम घट्नु र अधिकांश कम्पनीको मूल्य ओरालो लाग्नुले लगानीकर्ताहरू अझै स्पष्ट दिशाको प्रतीक्षामा रहेको संकेत गरेको छ। लगातार दोस्रो दिनको गिरावटले छोटो अवधिमा बजारमा सावधानीपूर्ण मनोविज्ञान कायम रहेको देखिन्छ।