काठमाडौँ। व्यवसायी दीपक भट्ट र शंकर समूह तथा अन्तर्गतको जगदम्बा स्टील्ससँग सम्बन्धित बहुचर्चित वित्तीय अनियमितता प्रकरणमा बिहीबार एकैदिन विभिन्न अदालतमा बैंकिङ कसुर, धितोपत्र तथा बीमा ऐन उल्लंघन र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएका छन्।
उच्च सरकारी वकिल कार्यालयले दीपक भट्ट, शंकरलाल अग्रवाल, सुलभ अग्रवाल र साहिल अग्रवालविरुद्ध उच्च अदालत पाटनमा बैंकिङ कसुरको मुद्दा दायर गर्दै ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको माग गरेको छ।
जगदम्बा स्टील्सले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट चालु पुँजी र अल्पकालीन कर्जाका रूपमा लिएको रकम तोकिएको औद्योगिक प्रयोजनमा प्रयोग नगरी अन्यत्र लगानी गरेको आरोप छ। अनुसन्धानमा करिब ५४ करोड ५० लाख रुपैयाँ दीपक भट्टको व्यक्तिगत खातामा स्थानान्तरण गरिएको र अन्ततः हिमालयन रि–इन्स्योरेन्सको संस्थापक सेयर खरिदलगायतका प्रयोजनमा प्रयोग भएको देखिएको सरकारी पक्षको दाबी छ। अनुसन्धानकर्ताका अनुसार रकमलाई विभिन्न खातामार्फत घुमाएर लगानीमा प्रयोग गरिएको थियो भने जग्गा खरिदको बैनासम्बन्धी कागजात प्रयोग गरी बैंक तथा नियामक निकायलाई भ्रममा पार्ने प्रयास गरिएको थियो।
दीपक भट्टले भने उक्त रकम जग्गा खरिदका लागि बैनास्वरूप लिएको र पछि साँवा–ब्याजसहित फिर्ता गरिसकेको दाबी गरेका छन्। तर सरकारी वकिलले यसलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कर्जा दुरुपयोगको कसुर मानेको छ। बैंकिङ कसुर ऐनअनुसार दोषी ठहर भए प्रतिवादीहरूले ६ देखि ८ वर्षसम्म कैद, बिगो असुली र बराबर रकमको जरिवाना भोग्नुपर्ने व्यवस्था छ।
यसैबीच, जिल्ला अदालत काठमाडौंमा धितोपत्र तथा बीमा ऐनविरुद्धको कसुरमा पनि छुट्टै मुद्दा दायर गरिएको छ। उक्त मुद्दामा दीपक भट्ट, सुलभ अग्रवाललगायतलाई प्रतिवादी बनाइएको छ भने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई पनि प्रतिवादी बनाइएको छ। गोल्छा यसअघि सर्वोच्च अदालतको आदेशपछि बन्दीप्रत्यक्षीकरण रिटमार्फत रिहा भएका थिए।
बिहीबार नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले दीपक भट्टसहित ३९ जनाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर गरेको छ। उक्त मुद्दामा २२ अर्ब ३९ करोड रुपैयाँ बिगो कायम गरिएको छ । यसलाई हालसम्मका ठुला वित्तीय अपराधसम्बन्धी अभियोगमध्ये एक मानिएको छ। आरोपपत्रमा शंकास्पद वित्तीय कारोबार, जटिल लगानी संरचना, रकमको अस्वाभाविक प्रवाह तथा स्रोत नखुलेका सम्पत्तिसम्बन्धी विवरण समावेश गरिएको छ।
सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट र साहिल अग्रवाललाई मुख्य प्रतिवादी बनाइएको छ। भट्ट र साहिललाई मुद्दा दायरका लागि अदालतमा उपस्थित गराइएको थियो। हाल दीपक भट्ट र सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा छन् भने साहिल अग्रवाल फरार रहेको जनाइएको छ। शंकरलाल अग्रवाल अनुसन्धानका क्रममा पक्राउ परेपछि हाजिरी जमानीमा छुटेका थिए।