• २०८३ जेठ २९
  • 2026 June 12, Friday

ट्रिलिनियरहरूको उदय विश्वका लागि किन चिन्ताको विषय हो?

मानव इतिहासमा अहिलेसम्म कोही पनि १ ट्रिलियन डलर बराबरको सम्पत्तिका मालिक भएका थिएनन्। तर अब त्यो अवस्था रहेन।

प्रविधि उद्यमी तथा विश्वकै सबैभन्दा धनी व्यक्ति इलन मस्क आँकलन गरिएको समयभन्दा निकै अघि नै विश्वकै पहिलो ट्रिलिनियर बनेका छन्। बिहिबार रकेट कम्पनी स्पेसएक्सको आईपीओ निष्कासनबाट ७५ अर्ब डलर संकलन भएपछि मस्कको सम्पत्ति १.१ ट्रिलियन अमेरिकी डलर अर्थात् १३ अंकको तहमा पुगेको हो।

विश्वमा १ ट्रिलियनभन्दा ठुलो अर्थतन्त्र भएका देशको संख्या २३ वटा मात्र छ। अर्थात्, मस्क विश्वका अधिकांश देशहरुभन्दा पनि धनी बन्न पुगेका छन।

मस्क विश्वको पहिलो ट्रिलिनियर बनेपनि सम्भवतः उनी एक्ला मात्र हुने छैनन्।

गरिबी र अन्यायविरुद्ध काम गर्ने अन्तर्राष्ट्रिय संस्था अक्सफामले आगामी १० वर्षभित्र ५ जना व्यक्ति ट्रिलिनियर बन्न सक्ने अनुमान गरेको छ। पछिल्लो एक वर्षमै विश्वका १० धनी अर्बपतिहरूको सम्पत्ति ६९८ अर्ब डलरले बढेको छ। विश्वका सबैभन्दा ठूला ५० कम्पनीमध्ये एकतिहाइभन्दा बढी (जसको संयुक्त मूल्य १३.३ ट्रिलियन डलर छ) या त अर्बपतिद्वारा सञ्चालित छन् वा तिनका मुख्य सेयरहोल्डर अर्बपति छन्।

“ट्रिलिनियरहरूको उदय निश्चित रूपमा चिन्ताको विषय हुनुपर्छ,” अक्सफामको आर्थिक न्याय विभागका वरिष्ठ निर्देशक नबिल अहमद बताउँछन्।

इलन मस्क तथा मार्क जुकरबर्ग र ल्यारी एलिसन जस्ता अन्य अति धनी व्यक्तिहर पहिले नै विश्वलाई मार्गनिर्देश गर्ने भूमिकामा पुगिसकेका छन्। यहीकारण उनीहरु विश्वकै सबैभन्दा प्रभावशाली व्यक्तिहरूको सूचीमा बारम्बार परिरहेका छन्। यस वर्षको सुरुवातमा एलिसनको सम्पत्ति केही समयका लागि मस्कभन्दा पनि बढी भएको बताइएको थियो।

मस्कसँग स्पेसएक्स, एक्स र न्युरालिङ्क जस्ता कम्पनीहरूमा ठुलो स्वामित्व छ। त्यसकारण उनी प्रविधि, अन्तरिक्ष, कृत्रिम बुद्धिमत्ता र सञ्चार क्षेत्रमा अत्यन्त ठुलो शक्ति राख्छन्। उनले आफ्नो धन र प्रभावलाई राजनीतिमा पनि प्रयोग गर्ने प्रयास गरेका छन्। उनले डोनाल्ड ट्रम्पको २०२४ को चुनावी अभियानलाई सयौँ मिलियन डलर सहयोग गरेका थिए भने प्रशासनको सुरुवाती चरणमा संघीय बजेट र कर्मचारी कटौती गर्ने उद्देश्यसहित बनाइएको सरकारी कार्यक्षमता विभागको नेतृत्व समेत गरेका थिए।

अहमद मस्क ट्रिलिनियर बनेपछि उनको शक्ति अझै बढ्ने र विश्वका सरकार तथा कानुनहरूले उनलाई नियन्त्रण गर्न सक्ने क्षमता कमजोर हुन सक्ने विश्लेषण सुनाउँछन्।

“हामीले किन धनाढ्यहरूको शासनबारे कुरा गर्नुपर्छ भन्ने अत्याधिक धनले अलोकतान्त्रिक शक्ति पैदा गर्छ,” अहमद भन्छन्।

राजनीतिमा पैसाको प्रभाव

अमेरिकामा धेरै मानिसहरू राजनीतिमा धनको बढ्दो प्रभाव र त्यसले कानुन निर्माण गर्ने नेताहरूमाथि पार्न सक्ने असरबारे चिन्तित छन्। सन् २०२३ मा प्यु रिसर्च सेन्टरले गरेको एक अध्ययन अनुसार ७० प्रतिशतभन्दा बढी अमेरिकीहरूले चुनावी अभियान खर्चमा सीमा हुनुपर्ने बताएका थिए। ८५ प्रतिशत मानिसहरूले चुनावी अभियानको अत्याधिक खर्चले योग्य मानिसहरूलाई चुनाव लड्न कठिन बनाउँछ भन्ने धारणा व्यक्त गरेका थिए भने ८० प्रतिशतले चुनावी चन्दा दिने व्यक्तिहरूले सांसदहरूमाथि अत्याधिक प्रभाव पार्ने बताएका थिए।

पहिले व्यक्तिहरू र संस्थाहरूले चुनावमा खर्च गर्न पाउने रकममा कडा प्रतिबन्ध थियो। तर अमेरिकी सर्वोच्च अदालतको सन् २०१० को विवादास्पद फैसलाले कम्पनीहरूको “स्वतन्त्र” राजनीतिक खर्चमाथिको नियन्त्रण हटाइदियो। त्यसपछि विशाल चुनावी सहयोग समूहहरू र ठूलो मात्रामा कर्पोरेट चन्दा राजनीतिमा प्रवेश गर्न थाले। सर्वोच्च अदालतकी स्वर्गीय न्यायाधीश रुथ बेडर गिन्सबर्गले यसलाई आफ्नो समयकै सबैभन्दा खराब फैसला भनेकी थिइन्। केही राज्यहरूले यसलाई उल्ट्याउन संवैधानिक संशोधनको समर्थन पनि गरेका छन्। तर १५ वर्ष बितिसक्दा पनि त्यो निर्णय कायम छ र धनी कम्पनी तथा व्यक्तिहरूको सम्पत्ति अझै बढिरहेको छ।

डोनाल्ड ट्रम्पको २०२४ चुनावी अभियानका लागि उठाइएको कुल रकममध्ये करिब ४४ प्रतिशत अर्थात् ४८१ मिलियन डलर केवल १० जना दाताबाट आएको थियो। त्यसमध्ये मस्कले मात्रै २५० मिलियन डलरभन्दा बढी योगदान गरेका थिए।

“हामी यस्तो लोकतन्त्रमा बाँचिरहेका छौँ जहाँ केही मानिसहरूले चुनावमा करोडौँ डलर खर्च गर्न सक्छन् । तर, अर्को सामान्य नागरिकसँग केवल आफ्नो एउटा मत हुन्छ। यसले लोकतन्त्रलाई कमजोर बनाइरहेको छ,” अहमद बताउँछन्।

अहमद ट्रिलिनियरहरू भाग्यले बनेको नभएर दशकौँदेखि गरिएका गलत नीतिगत निर्णयहरूको उपज रहेको भनाई राख्छन्। उनी विश्वका धनी वर्गको सम्पत्ति जति बढ्दै जान्छ, तिनको प्रभाव नियन्त्रण गर्ने नीतिहरू लागू गर्नु त्यति नै आवश्यक बन्दै जाने समेत बताउँछन्।

“यदि राजनीति र कर्पोरेट शक्तिमाथि नियन्त्रणका सीमा हुँदैनन् भने अति धनी मानिसहरूले आफ्नो सम्पत्ति अझै बढाउनका लागि आफ्नो स्वार्थ अधिकतम बनाउँछन्,” उनी भन्छन्, “त्यसले कानुनको प्रभावकारिता अझ कमजोर बनाउँछ।”

अहमदले अहिलेको आर्थिक असमानतालाई अमेरिकाको “गिल्डेड युग” सँग तुलना गरेका छन्, जतिबेला भ्यान्डरबिल्ट, कार्नेगी र रकफेलर परिवारहरूले विशाल सम्पत्ति कमाएका थिए र आर्थिक असमानता अत्याधिक बढेको थियो। अहमदका अनुसार अहिलेको सबैभन्दा धनी ०.०००१ प्रतिशत मानिसहरूले त्यो समयभन्दा पनि बढी सम्पत्ति नियन्त्रण गर्छन्।

सामाजिक सञ्जालमार्फत चुनावमा प्रभाव

ब्रुकिङ्स इन्टिच्यिुसनका वरिष्ठ अनुसन्धानकर्ता ड्यारेल वेस्टका अनुसार मस्कको सामाजिक सञ्जालमाथिको प्रभाव पनि चुनाव प्रभावित गर्ने एउटा महत्वपूर्ण माध्यम हो।

“उनीसँग कुनै पनि चुनावी अभियानमा खर्बौँ खर्च गर्ने क्षमता छ। एक्समा उनका करोडौँ समर्थकहरू छन्। यसले उनलाई सार्वजनिक बहसलाई प्रभावित गर्ने, आफ्ना समर्थकलाई पुरस्कृत गर्ने र विरोधीलाई दण्डित गर्ने शक्ति पूदान गर्छ,” वेस्ट भन्छन्।

कर्पोरेट शक्तिको विस्तार

राजनीतिमा पैसाको प्रभाव जस्तै, विश्वका धनी व्यक्तिहरूद्वारा सञ्चालित प्रविधि कम्पनीहरूको शक्तिबारे पनि अमेरिकीहरू चिन्तित छन्। सन् २०२१ को प्यु रिसर्च सेन्टरको अर्को एक सर्वेक्षणका अनुसार लगभग ७० प्रतिशत मानिसहरूले ठूला प्रविधि कम्पनीहरूको अर्थतन्त्रमा अत्याधिक प्रभाव रहेको बताएका थिए भने ५६ प्रतिशतले त्यस्ता कम्पनीहरूमाथि कडा नियमन हुनुपर्ने बताएका थिए।

मस्कको विभिन्न क्षेत्रहरूमा फैलिएको प्रभाव पनि विज्ञहरूका लागि चिन्ताको विषय बनेको छ।

“मस्कको विशेषता के हो भने उनी धेरै फरक-फरक क्षेत्रमा प्रभावशाली छन्, किनभने उनका व्यवसायहरू विभिन्न क्षेत्रहरूमा सञ्चालन भइरहेका छन्,” वेस्टले बताए।

वेस्टका अनुसार मस्कको अन्तरजाल तथा भूउपग्रह सञ्जाल स्टारलिङ्क र यसको मातृ कम्पनी स्पेसएक्सले उनलाई सरकारहरूमाथि समेत प्रभाव जमाउने क्षमता दिन सक्छ।

“धेरै देशहरूले स्टारलिङ्क प्रयोग गर्न चाहन्छन्। विश्वका नेताहरू आफ्ना भूउपग्रहहरू स्पेसएक्समार्फत प्रक्षेपण गराउन चाहन्छन्,” वेस्ट भन्छन्, “त्यसैले उनी धेरै क्षेत्रमा स्वत: प्रभावशाली छन्।”

स्टारलिङ्क हाल विश्वकै सबैभन्दा ठूलो भूउपग्रह सञ्जाल हो। पृथ्वीको कक्षमा रहेका ६,७५० भूउपग्रहमार्फत यसले विश्वभरका करोडौँ मानिसलाई अन्तरजाल सेवा दिइरहेको छ। यसले दुर्गम क्षेत्र तथा युद्ध वा प्राकृतिक विपत्तिबाट प्रभावित ठाउँहरूमा सम्पर्क सुविधा सुधार्न मद्दत गरेको छ। तर त्यो सञ्जाल अन्ततः मस्ककै नियन्त्रणमा छ।

उदाहरणका लागि, रुस-युक्रेन युद्धको सुरुवातमा मस्कले युक्रेन सरकारलाई स्टारलिङ्क उपलब्ध गराएका थिए। तर, पछि केही महत्वपूर्ण घटनाहरूमा उनले यसको प्रयोग सीमित गरेको आरोप लागेको थियो। रोयटर्सको रिपोर्ट अनुसार सन् २०२२ को अन्त्यतिर मस्कले खेर्सन क्षेत्रसहित केही रणनीतिक क्षेत्रमा स्टारलिङ्क सेवा बन्द गर्न आदेश दिएका थिए, जसका कारण युक्रेनी सेनाबीच सञ्चार अवरुद्ध भएको बताइएको थियो। त्यही समयमा द न्युयोर्क टाइम्सको अर्को रिपोर्ट अनुसार मस्कले रुसको ब्ल्याक सि क्षेत्रमाथि मानवरहित आक्रमण गर्न युक्रेनी सेनालाई स्टारलिङ्क प्रयोग गर्न अनुमति दिएका थिएनन्।

“धेरै देशहरू आफ्नो राष्ट्रिय सुरक्षाका लागि स्टारलिङ्कमा निर्भर भएकाले सबैभन्दा ठूलो राष्ट्रिय सुरक्षा जोखिम स्टारलिङ्कमार्फत आउँनेवाला छ,” वेस्ट भन्छन्।

स्पेसएक्सको प्रविधि नासाका विभिन्न प्रक्षेपण तथा भूउपग्रहहरूमा पनि प्रयोग भइरहेको छ। वेस्टका अनुसार यसले सरकारलाई मस्कविरुद्ध कडा कदम चाल्न कठिन बनाउन सक्छ।

उनले सरकारी कार्यक्षमता विभागबाट मस्कको बहिर्गमनपछि मस्क र ट्रम्पबीच भएको सार्वजनिक विवादलाई उदाहरणका रूपमा उल्लेख गरे।
मस्कले ट्रम्पको “बिग, ब्युटिफल विधेयक” को आलोचना गरेपछि दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अपमान गरेका थिए।

विवादका क्रममा मस्कले “म बिना ट्रम्प पुनः राष्ट्रपति बन्न सक्दैनथे” भन्ने दाबी गरे र नयाँ राजनीतिक दल गठन गर्ने घोषणा पनि गरे। त्यसपछि ट्रम्पले मस्कका सहयोगी जारेड आइज्याकम्यानलाई नासा प्रमुख बनाउने सिफारिस फिर्ता लिए र मस्कका सरकारी ठेक्काहरू रद्द गर्ने धम्की दिएका थिए।

तर ती धम्कीहरू शब्दमै सीमित भए। ट्रम्प प्रशासनले स्पेसएक्सका ठेक्का रद्द गर्नेबारे छलफल गरे पनि अन्ततः ती अत्यन्त आवश्यक भएको निष्कर्ष निकालेको थियो। त्यसपछि ट्रम्पले फेरि आइज्याकम्यानलाई नासा प्रमुखमा नियुक्ती दिए।

अमेरिकी प्रशासनले सन् २०२१ मा चन्द्रमामा अन्तरिक्ष यात्री लैजान सक्ने यान विकास गर्न स्पेसएक्सलाई २.८९ अर्ब डलरको ठेक्का दिएको थियो। तर कम्पनीको स्टारसिप रकेट बारम्बार असफल भएपछि हाल नासाका कार्यवाहक प्रशासक रहेका यातायात सचिव सिन डफीले “यो ठेक्का खुला गर्ने” र “अन्य अन्तरिक्ष कम्पनीहरूलाई पनि प्रतिस्पर्धा गर्न दिने” बताएका थिए। त्यसपछि मस्कले सार्वजनिक रूपमा आक्रामक प्रतिक्रिया दिएका थिए।

वेस्टका अनुसार यदि मस्कको सम्पत्ति अझै बढ्दै गयो भने भविष्यमा उनलाई चुनौती दिन झन् कठिन हुनेछ।

“उनको सम्पत्ति जति बढ्छ, उनीमाथिको नियन्त्रण त्यति घट्छ। अहिलेको ट्रिलियन डलर पुग्नुअघिकै सम्पत्तिले उनलाई अन्य शक्ति केन्द्रहरूबाट धेरै हदसम्म सुरक्षित बनाइसकेको छ। धेरै अवस्थामा उनी सरकारभन्दा माथि पुगिसकेका छन्। उनको सम्पत्ति ट्रिलियन पुग्नु भनेको त्यो प्रभावलाई अझ धेरै गुणा बढाउनु हो,” वेस्ट भन्छन्, “यो लोकतान्त्रिक प्रणालीका लागि निकै जोखिमपूर्ण हुन्छ। उनी लगभग सरकारहरूको नियन्त्रणभन्दा बाहिर पुग्नेछन्।”

(एजेन्सीहरूको सहयोगमा)