• २०८३ असार १०
  • 2026 June 24, Wednesday

असारमा थप घट्यो वाणिज्य बैंकहरूको ब्याजदर

काठमाडौँ । असार १ गतेदेखि लागू हुने गरी वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर थप घटाएका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपको प्रतिफल ओरालो लागेको हो।

बैंकहरूले सार्वजनिक गरेको दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर जेठको ४.३४ प्रतिशतबाट घटेर असारमा ४.२७ प्रतिशतमा झरेको छ। यसरी औसत दर ०.०७ प्रतिशत बिन्दुले घटेको हो। संस्थागत मुद्दती निक्षेपतर्फ पनि औसत ब्याजदर ३.२० प्रतिशतबाट ३.१८ प्रतिशतमा झरेको छ।

असार महिनाका लागि केही बैंकहरूले ब्याजदर घटाएका छन् भने बाँकीले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। ब्याजदर घटाउने बैंकहरूमा लक्ष्मी सनराइज बैंक, एनआईसी एशिया बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, एनएमबी बैंक तथा कुमारी बैंक रहेका छन्। कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने आफ्नो ब्याजदर यथावत् राखेका छन्।

असारमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.७५ प्रतिशत ब्याज एनएमबी बैंक र राष्ट्रिय वाणिज्य बैंकले प्रदान गर्ने भएका छन्। एनएमबी बैंकले पछिल्ला तीन महिनामा लगातार ब्याजदर घटाउँदै लगेको छ। बैशाखमा ४.९० प्रतिशत रहेको यसको दर जेठमा ४.८० प्रतिशत र असारमा ४.७५ प्रतिशतमा सीमित भएको छ। राष्ट्रिय वाणिज्य बैंकले भने बैशाखदेखि नै ४.७५ प्रतिशतको दर कायम राख्दै आएको छ।

ब्याजदरमा सबैभन्दा तीव्र कटौती गर्ने बैंकमध्ये एनआईसी एशिया र हिमालयन बैंक देखिएका छन्। बैशाखमा एनआईसी एशियाले ४.७५ प्रतिशत र हिमालयन बैंकले ४.५० प्रतिशत ब्याज प्रदान गर्दै आएकोमा असारसम्म आइपुग्दा दुवैले आफ्नो दर ४ प्रतिशतमा झारेका छन्।

प्रभु बैंक र नबिल बैंकले ४.५५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन् भने ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बैशाखदेखि असारसम्म ४.५० प्रतिशतको दर कायम राखेका छन्।

नेपाल बैंकले बैशाखको ४.५० प्रतिशतबाट घटाएर जेठ र असारमा ४.२५ प्रतिशत कायम राखेको छ भने नेपाल एसबीआई बैंकले लगातार तीन महिनादेखि ४.२५ प्रतिशत ब्याजदरलाई स्थिर राखेको छ। सिटिजन्स बैंक इन्टरनेसनलले बैशाखको ४.१५ प्रतिशतबाट घटाएर जेठ र असारमा ४.१० प्रतिशत कायम गरेको छ। प्राइम कमर्सियल बैंकले जेठको ४.१५ प्रतिशतबाट असारका लागि ४ प्रतिशत निर्धारण गरेको छ।

कृषि विकास बैंकले ४.१५ प्रतिशतको दरलाई लगातार तीन महिना यथावत् राखेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने बैशाखको ४.१० प्रतिशतबाट घटाउँदै जेठमा ४ प्रतिशत र असारमा ३.९५ प्रतिशत कायम गरेको छ, जुन असार महिनाका लागि सबैभन्दा न्यून व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर हो। सिद्धार्थ बैंक र एभरेष्ट बैंकले ४.०५ प्रतिशतको दरलाई निरन्तरता दिएका छन् भने कुमारी बैंकले बैशाखको ४.०५ प्रतिशतबाट जेठ र असारमा घटाएर ३.९६ प्रतिशत कायम गरेको छ।

बैंकहरूले रेमिट्यान्स खातामा राखिने व्यक्तिगत मुद्दती निक्षेपमा साधारण व्यक्तिगत मुद्दती खाताभन्दा एक प्रतिशत बिन्दुसम्म बढी ब्याज प्रदान गर्ने व्यवस्था यथावत् राखेका छन्।

बैंकिङ प्रणालीमा कर्जा लगानी योग्य रकम (तरलता) उच्च रहँदा निक्षेपको ब्याजदर निरन्तर घटिरहेको छ। हाल बैंकहरूसँग करिब १३ खर्ब रुपैयाँभन्दा बढी कर्जा दिन सकिने रकम रहेको बताइन्छ। कर्जाको माग अपेक्षाकृत सुस्त हुँदा बैंकहरूले अतिरिक्त रकम नेपाल राष्ट्र बैंकमा २.५० प्रतिशत र ३ प्रतिशत ब्याजदरमा राख्न बाध्य भएका छन्।

हाल बैंक तथा वित्तीय संस्थाहरूले करिब ८० खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ५९ खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। मासिक रूपमा दुई खर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिनुका कारण पनि बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढिरहेको छ।

निक्षेप बढ्दै जानु र कर्जाको माग सुस्त रहनुले बैंकहरूको ब्याजदर लगातार ओरालो लागिरहेको विश्लेषण छ।