काठमाडौँ। नेपाल बीमा प्राधिकरणले विभिन्न फौजदारी अभियोगमा मुद्दा दर्ता गरिएका ६ बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई निलम्बनको पत्र पठाएको छ। प्राधिकरणले सोमबार हिमालयन लाइफ, प्रोटेक्टिभ माइक्रो, लिबर्टी माइक्रो, गार्डियन माइक्रो, नेपाल माइक्रो, क्रेष्ट माइक्रो, नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमा कम्पनीका सीईओलाई निलम्बनको जानकारीसहित पत्र काटेको हो।
प्राधिकरणले ती सीईओविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गतको कसुरमा विशेष अदालतमा मुद्दा दायर भएको सन्दर्भमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ अनुरुप निलम्बन गरिएको स्पष्ट पारेको हो।
प्राधिकरणको सो पत्रसँगै हिमालयन पुनर्बीमाकी सीईओ उपासना पौडेल, हिमालयन लाइफ इन्स्योरेन्सका सीईओ कपिल कुमार दाहाल, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ नरेश कुमार रोक्का, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ रामकुमार यादव, गार्डियन माइक्रो लाइफका सीईओ चिरायु भण्डारी, नेपाल माइक्रो इन्स्योरेन्सका मृगेन्द्र रिजाल, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका प्रतापमान श्रेष्ठ र नेपाल पुनर्बीमा कम्पनीका सीईओ सुरेन्द्र थापा स्वतः निलम्बनमा परेका छन्।
बीमा ऐनमा फौजदारी कसुरमा दोषी ठहर भई सजाय वा जरिवाना भुक्तान गरेका व्यक्तिले ५ वर्षसम्म बीमा कम्पनीमा कुनै जिम्मेवारी सम्हाल्न नमिल्ने व्यवस्था छ। यद्यपि, ती सीईओहरुमाथि हाल अभियोजन दायर भएको तथा अदालती प्रक्रिया जारी रहेको सन्दर्भमा उनीहरूले पदमा रहेर काम गर्न पाउने वा नपाउने द्धविधा रहेको थियो । यही द्धविधाका माझ प्राधिकरणबाट पछिल्लो निर्णय आएको हो।
योसँगै अब ती बीमा कम्पनीहरुले कामु वा नयाँ सीईओ नियुक्त गर्नुपर्नेछ।