• २०८३ असार २
  • 2026 June 16, Tuesday

काम खोज्दै जेठमा विदेशिए ६१ हजार नेपाली

काठमाडौँ । वैदेशिक रोजगारीका लागि जेठ महिनामा ६१ हजार ७२ नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार जेठ महिनामा ५३ हजार ६९८ पुरुष र ७ हजार ३७४ महिला वैदेशिक रोजगारीका लागि विभिन्न १०० वटा देश पुगेका हुन् ।

वैशाखको तुलनामा जेठ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३ हजार ३५७ ले घटेको छ। वैशाखमा ७४ हजार ४२९ नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

जेठ महिनामा पुनः श्रम स्वीकृति लिए्र २९ हजार ३७१ र नयाँ श्रम स्वीकृति लिएर ३१ हजार ७०१ विदेशिएका छन् । यसमध्ये दक्ष कामदारको संख्या ३७ हजार ३९१, अदक्ष कामदारको संख्या १४ हजार ९९४ जना र अर्धदक्ष कामदारको संख्या ८ हजार ३२८ रहेको छ । यस्तै, जेठमा ६३ जना उच्च दक्ष र २९६ जना व्यावसायिक कामदार रोजगारीका लागि पलायन भएको तथ्यांक छ ।

यीमध्ये १९ हजार ४५५ जना म्यानपावर कम्पनीमार्फत, ११ हजार ५०३ जनाले व्यक्तिगत श्रम स्वीकृतिमार्फत तथा ६५२ जना जी–टु–जी प्रणालीमार्फत विदेश गएको देखिन्छ ।

गन्तव्य मुलुकतर्फको तथ्यांक हेर्दा जेठ महिनामा सबैभन्दा धेरै नेपाली मलेसिया गएका छन् । मलेसिया १४ हजार १९२ नेपाली गएका हुन्। १२ हजार ४५५ जना यूएई, १० हजार २१० जना कतारका र ७ हजार ५१९ जना साउदी अरब गएका छन्।

त्यसपछि युरोपेली गन्तव्य मुलुक रोमानिया जाने नेपालीको संख्या अधिक छ । जेठमा काम खोज्दै ५ हजार १५ जना नेपाली रोमानिया पुगेको तथ्यांक छ । जेठमै १ हजार ९६७ जना कुवेत र १ हजार ७५९ जना जापान गएका छन् ।