वर्तमान सरकार पाँच वर्षका लागि निर्वाचित जनअनुमोदित सरकार हो। हामी एउटा स्पष्ट पञ्चवर्षीय मार्गचित्र (रोडम्याप) का साथ अगाडि बढेका छौँ। यो अवधिमा हाम्रो लक्ष्य केवल सत्ता सञ्चालन मात्र होइन, बरु नेपालको आर्थिक संरचनामा आधारभूत परिवर्तन ल्याउनु हो। हाम्रो कार्ययोजनाका तीन मुख्य चरण छन्: पहिलो वर्ष थिति र जग बसाउने, दोस्रो र तेस्रो वर्षमा समृद्धिको गतिलाई तीव्रता (एक्सेलेरेसन) दिने र चौथो तथा पाँचौँ वर्षमा त्यसको लाभांश नेपाली जनताको घरदैलोमा पुर्याउने।
विगतमा हैसियत नै नबनाइकन वितरणमुखी हुने होडबाजीले गर्दा अर्थतन्त्रमा धेरै समस्याहरू सिर्जना भए। अर्थमन्त्रीको रूपमा मैले चाहेको जस्तो पर्याप्त ‘फिस्कल स्पेस’ अहिले उपलब्ध छैन। राज्य निदाएरै बस्ने हो र एउटा सिन्को पनि नभाँच्ने हो भने पनि हाम्रा अनिवार्य दायित्वहरू झण्डै १४ खर्ब रूपैयाँ पुगिसकेका छन्। ऋणको साँवा-ब्याज भुक्तानी, सामाजिक सुरक्षाको प्रतिबद्धता र ६ लाखभन्दा बढी राष्ट्रसेवकहरूको तलब-भत्ताको ठूलो बोझ हामीमाथि छ। यो सीमित स्रोतबाटै हामीले देशलाई ठूला विकास निर्माणतर्फ लैजानुपर्ने चुनौती छ।
यसपालि हामीले कर प्रणालीमा ‘रेडिकल’ सुधारका कदमहरू चालेका छौँ। १० लाखसम्मको व्यक्तिगत आयमा १ प्रतिशत मात्र कर लाग्ने व्यवस्था गरेर मध्यमवर्गीय युवा र मासिक १ लाखसम्म कमाउने प्रोफेसनलहरूलाई करको बोझबाट राहत दिएका छौँ। हाम्रो उद्देश्य करको दर घटाउने तर दायरा बढाउने हो। लुकेर वा छलेर बसेकाहरूलाई ‘क्लिन’ भएर नयाँ सुरुवात गर्न ऐतिहासिक अवसरका रूपमा ‘एम्नेस्टी’ (आममाफी) सरहका स्किमहरू ल्याइएका छन्। नेपालको इतिहासमै पहिलोपटक यति ठूलो संख्याका साना कम्पनी र व्यक्तिहरूलाई करको मूलधारमा ल्याउन खोजिएको छ।
सुशासन र सेवा प्रवाहमा हामीले डिजिटल क्रान्तिको बाटो रोजेका छौँ। मालपोत, राहदानी र सवारी चालक अनुमति पत्रजस्ता जनतासँग प्रत्यक्ष ठोकिने सेवाहरूलाई ‘एप बेस्ड’ बनाएर बिचौलियाको अन्त्य गरिँदैछ। नागरिक एपमार्फत सयौँ सेवाहरू जोड्ने काम भइरहेको छ। विगत १०-१५ वर्षदेखि देश एउटा निहित स्वार्थ समूहको कब्जामा थियो। राजनीतिज्ञ, कर्मचारी र राज्यका अंगहरूमा उनीहरूको प्रभावलाई हामी तोड्दैछौँ। इतिहासकै ठूला वित्तीय घोटालाहरूको अभियोजन सुरु भइसकेको छ। हामी यो भद्रगोल सफा गरेर युवाहरूले विदेशिनु नपर्ने वातावरण बनाउन चाहन्छौँ।
भौतिक र डिजिटल पूर्वाधारमार्फत देश जोड्नु हाम्रो प्राथमिकता हो। पूर्व-पश्चिम ३-४ घण्टामा र काठमाडौंबाट पोखरा २-२.५ घण्टामा पुग्न सकिने ‘एक्सप्रेसवे’ हरूको सपना हामी साकार पार्न चाहन्छौँ। नेपाललाई एउटा एकीकृत आर्थिक एकाइ (इकोनोमिक युनिट) बनाउन लागत र दूरी घटाउने मोबिलिटी अपरिहार्य छ।
अबको युग प्रविधिको हो। नेपालले सूचना प्रविधि (IT) र आर्टिफिसियल इन्टेलिजेन्स (AI) मा ‘लिप फ्रग’ (छलाङ) मार्न सक्छ। मोबाइल क्रान्तिमा हामीले जसरी पुरानो प्रविधिलाई उछिनेर अगाडि बढ्यौँ, एआईमा पनि त्यस्तै सम्भावना छ। हामी स्विचाटारमा ‘सोभरेन एआई कम्प्युट सेन्टर’ स्थापना गर्दैछौँ। हाम्रो स्वच्छ ऊर्जालाई उपयोग गरेर एआई कम्प्युट पावरमार्फत सामान्य बिजुली निर्यातभन्दा सयौँ गुणा बढी आम्दानी गर्ने सम्भावना अहिले देखिएको छ। एमआइटी (MIT) र एनभिडिया (NVIDIA) जस्ता विश्वस्तरीय संस्थामा कार्यरत नेपाली विज्ञहरूलाई यस अभियानमा जोड्न हामी सफल भएका छौँ।
मेरो दृष्टिमा ‘नयाँ नेपाल’ एउटा एस्पिरेसनल (महत्वाकांक्षी) समाज हो। १०० बिलियन डलरको अर्थतन्त्र र ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य केवल कोरा कल्पना होइन, यो हाम्रो दृढ संकल्प हो। डिजिटलाइजेसन, डेमोग्राफी र डायस्पोरा (३डी) लाई जोडेर हामी अगाडि बढ्नुपर्छ। १ करोड नेपालीको वैदेशिक फुटप्रिन्टलाई नेपालको हितमा उपयोग गर्नुछ।
अन्तमा, युवा उद्यमीहरूलाई मेरो आह्वान छ– तपाईंहरू हाम्रा साझेदार र वकालतकर्ता (एडभोकेट्स) बनिदिनुहोस्। हामी नीति निर्माण गर्दा तपाईंहरूलाई नै ध्यानमा राख्छौँ। हाम्रा प्रयासहरूलाई शंकाको सुविधासहित विश्वास गरिदिनुहोस्। यो मुलुकको जहाजको दिशा मोडिएको छ, यसलाई गन्तव्यमा पुर्याउन तपाईंहरूको सकारात्मक ऊर्जा र सम्वाहकको भूमिका महत्वपूर्ण हुनेछ।
–काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विचारबाट सम्पादित ।
हेर्नुहोस् भिडिओ :