काठमाडौँ। लामो समयदेखि नेतृत्व अभाव, नीतिगत अन्योल र सुधारका एजेन्डा अल्झिएका बेला नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ नेतृत्व पाएको छ। सरकारले शुक्रबार डा. गोपालप्रसाद भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेसँगै नेपालको पुँजी बजारले बैंकिङ क्षेत्रका अनुभवी तथा वित्तीय नीतिका विज्ञलाई नेतृत्वतहमा पाएको छ।
मन्त्रिपरिषद्को निर्णय अनुसार डा. भट्टले पूर्वअध्यक्ष सन्तोष नारायण श्रेष्ठको बाँकी कार्यकाल पूरा गर्नेछन्। उनको कार्यकाल २०८५ मंसिर ९ गतेसम्म रहनेछ। श्रेष्ठले कार्यकाल सकिनुअघि राजीनामा दिएपछि त्यसयता सेबोन नेतृत्वविहीन थियो। यसले गर्दा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ), धितोपत्र बजारको नियमन, संस्थागत सुधार र लगानीकर्ता संरक्षणसँग सम्बन्धित विभिन्न विषयमा बोर्डको भूमिका प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै आलोचना हुँदै आएको थियो।
यही पृष्ठभूमिमा डा. भट्टको नियुक्तिलाई केवल प्रशासनिक पदपूर्ति मात्र नभई पुँजी बजारको भावी दिशा निर्धारणसँग जोडेर हेरिएको छ। बजारसँग सम्बन्धित सरोकारवालाहरूले उनको अनुभव र प्राज्ञिक पृष्ठभूमिले सेबोनलाई थप सक्रिय, पारदर्शी र परिणाममुखी बनाउन सक्ने अपेक्षा गरेका छन्।
राष्ट्र बैंकको तीन दशक लामो अनुभव
डा. भट्ट नेपालको वित्तीय क्षेत्रका परिचित नाम हुन्। उनले नेपाल राष्ट्र बैंकमा करिब ३० वर्ष सेवा गरेका छन्। राष्ट्र बैंकबाट विशेष श्रेणीका कार्यकारी निर्देशकका रूपमा अवकाश प्राप्त गरेका उनी मौद्रिक नीति, वित्तीय क्षेत्र नियमन, बैंक सुपरिवेक्षण, सार्वजनिक ऋण व्यवस्थापन तथा समष्टिगत आर्थिक अनुसन्धानका क्षेत्रमा लामो अनुभव बोकेर सेबोन पुगेका छन्।
राष्ट्र बैंकमा रहँदा उनले अनुसन्धान विभाग, बैंक सुपरिवेक्षण विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग, वित्तीय व्यवस्थापन विभाग, मानव स्रोत व्यवस्थापन विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, काठमाडौं बैंकिङ कार्यालय तथा जनकपुर क्षेत्रीय कार्यालयलगायतका महत्वपूर्ण निकायको नेतृत्व गरेका थिए।
अनुसन्धान विभाग प्रमुखका रूपमा उनले मौद्रिक नीति निर्माण, आर्थिक पूर्वानुमान तथा उपभोक्ता मूल्य सूचकांक (सीपीआई) विकास परियोजनामा महत्वपूर्ण भूमिका खेलेका थिए। सार्वजनिक ऋण व्यवस्थापन क्षेत्रमा उनले ऋण रणनीति सुदृढीकरण, खुला बजार सञ्चालन उपकरण विकास तथा तरलता व्यवस्थापन प्रणाली विस्तारमा नेतृत्व गरेका थिए।
वित्तीय क्षेत्रका जानकारहरूका अनुसार राष्ट्र बैंकमा काम गर्दाको अनुभवले उनलाई नियमन, जोखिम व्यवस्थापन, संस्थागत सुशासन र वित्तीय स्थायित्वका विषयमा गहिरो समझ प्रदान गरेको छ। यो अनुभव अहिले सेबोनको नेतृत्वमा उपयोगी हुन सक्ने देखिन्छ।
शेयर बजारमै विद्यावारिधि
डा. भट्टको अर्को विशेषता भनेको उनको प्राज्ञिक पृष्ठभूमि हो। उनी केवल प्रशासकीय अनुभव भएका अधिकारी मात्र होइनन्, पुँजी बजारका अध्येता पनि हुन्।
उनले त्रिभुवन विश्वविद्यालयबाट सन् २००९ मा वित्तीय व्यवस्थापन अन्तर्गत ‘स्टक मार्केट इफिसियन्सी इन नेपाल’ अर्थात् नेपालको शेयर बजारको सक्षमता विषयमा विद्यावारिधि (पीएचडी) गरेका थिए। पुँजी बजार नियामक निकायको नेतृत्वमा शेयर बजारसम्बन्धी विषयमै गहिरो अध्ययन गरेका व्यक्ति पुग्नु आफैंमा अर्थपूर्ण मानिएको छ।
उनले व्यवस्थापनमा स्नातकोत्तर तथा स्नातक तहको अध्ययन पनि त्रिभुवन विश्वविद्यालयबाटै पूरा गरेका छन्। शिक्षण क्षेत्रमा समेत उनको लामो संलग्नता रहेको छ। उनले २५ वर्षभन्दा बढी समय विभिन्न विश्वविद्यालय तथा कलेजमा लगानी विश्लेषण, वित्तीय व्युत्पन्न उपकरण, कर्पोरेट वित्त, मौद्रिक नीति, अन्तर्राष्ट्रिय वित्तीय व्यवस्थापन तथा जोखिम व्यवस्थापनजस्ता विषय अध्यापन गरेका छन्।
पुँजी बजार, आर्थिक वृद्धि, सार्वजनिक ऋण र वित्तीय प्रणालीसम्बन्धी विभिन्न अनुसन्धानात्मक लेख तथा प्रकाशनमार्फत पनि उनले आफ्नो बौद्धिक योगदान दिएका छन्।
बोर्डदेखि नीतिगत परामर्शसम्मको अनुभव
सेबोनको नेतृत्वमा पुग्नुअघि डा. भट्टले निजी क्षेत्रका वित्तीय संस्थामा समेत नेतृत्व तहको अनुभव हासिल गरेका छन्। उनी सन् २०२० देखि २०२२ सम्म सानिमा क्यापिटल लिमिटेडमा स्वतन्त्र सञ्चालक थिए भने सन् २०२२ देखि २०२६ सम्म नेपाल एसबीआई बैंक लिमिटेडमा स्वतन्त्र सञ्चालकका रूपमा कार्यरत रहे।
यसका अतिरिक्त उनले अर्थ मन्त्रालयअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा सञ्चालित पुँजी बजार तथा पूर्वाधार विकास परियोजनामा सदस्यका रूपमा काम गरेका थिए। सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलगायत संस्थामा परामर्शदाताको भूमिकामा रहेर पनि उनले नीतिगत योगदान दिएका छन्।
यसले उनलाई नियामक, बैंकिङ, पूँजी बजार र सरकारी नीतिनिर्माण प्रक्रियाबीचको अन्तरसम्बन्ध बुझ्ने अवसर दिएको देखिन्छ।
उनका सामु रहेका चूनौति
नयाँ अध्यक्षको रूपमा डा. भट्टले जिम्मेवारी सम्हाल्दा नेपालको पुँजी बजार विभिन्न चुनौतीबिच उभिएको छ। खासगरी, सेबोनका अध्यक्षहरु विभिन्न विवादहरुमा पर्दै आएका छन् भने स्वार्थ समुहका लािग काम गर्ने गरेको आरोप लाग्ने गरेको छ। यसले संस्थाको छबिमा समेत प्रतिकुल असर परेको छ।
यस्तोमा भट्टसामु विवादमा नपरी लगानीकर्ता संरक्षण, सूचनाको पारदर्शिता, बजार अनुशासन तथा नियामकीय विश्वसनीयता बलियो बनाउने चूनौतिपूर्ण जिम्मेवारी छ। अर्कोतर्फ, नयाँ वित्तीय उपकरण, संस्थागत लगानीकर्ता विस्तार, प्रविधिमैत्री नियमन तथा बजारको दायरा फराकिलो बनाउने विषयहरूमा समेत उनले खरो उत्रनु पर्नेछ।
पछिल्ला वर्षहरूमा आईपीओ स्वीकृति प्रक्रिया, सूचीकरण व्यवस्थापन, ब्रोकर प्रणालीको आधुनिकीकरण, मर्चेन्ट बैंकरहरूको नियमन तथा धितोपत्र बजारसँग सम्बन्धित विभिन्न नीतिगत निर्णयहरूलाई लिएर विवाद हुँदै आएको छ। लगानीकर्ताहरूले पनि बजारको दीर्घकालीन विकासका लागि स्पष्ट नीति र स्थिर नियामकीय वातावरणको माग गर्दै आएका छन्।
यस्तो अवस्थामा सबैको नजर राष्ट्र बैंक, वित्तीय क्षेत्र र पुँजी बजारको अनुभव बोकेका डा. भट्टले सेबोनलाई कस्तो दिशा दिन्छन् भन्नेमा छ।