काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) सम्पन्न गरी निर्माण चरणमा रहेका सबै जलविद्युत् तथा सौर्य आयोजनाका प्रवर्द्धक कम्पनीलाई सात दिनभित्र आयोजना प्रगति विवरण पेश गर्न निर्देशन दिएको छ।
प्राधिकरणको व्यवसाय विकास निर्देशनालय अन्तर्गतको विद्युत् व्यापार विभागले सूचना जारी गर्दै पीपीए सम्झौताअनुसार निर्माणाधीन आयोजनाहरूले चौमासिक रूपमा प्रगति प्रतिवेदन उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको स्मरण गराएको हो।
विभागले प्रकाशित सूचनाको मितिबाट सात दिनभित्र आवश्यक विवरण पेश गर्न आग्रह गरेको छ।
प्राधिकरणका अनुसार निर्माणाधीन आयोजनाको वास्तविक अवस्था अद्यावधिक गर्ने, निर्माण प्रगतिबारे जानकारी संकलन गर्ने तथा देखिएका समस्या पहिचान गरी समाधानका उपाय खोज्ने उद्देश्यले प्रगति विवरण मागिएको हो।
विभागले तोकिएको समयभित्र प्रतिवेदन प्राप्त नभए पीपीएमा उल्लेखित प्रावधानअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ।