काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको कुल वैदेशिक व्यापार उल्लेखनीय रूपमा विस्तार भएको छ। भन्सार विभागको तथ्यांक अनुसार गत साउनदेखि जेठसम्मको अवधिमा कुल वैदेशिक व्यापा २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।
यो गत वर्षको सोही अवधिको तुलनामा १४.७८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो।
यसवर्ष आयात र निर्यात दुवै बढेका छन्। नेपालले ११ महिनामा १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा आयात गरेको छ।
यो गत वर्षको तुलनामा १५.१६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा आयात १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ बराबर रहेको थियो।
निर्याततर्फ पनि सकारात्मक सुधार देखिएको छ। चालु आवको ११ महिनामा नेपालबाट २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो।
यद्यपि, आयात र निर्यात दुवै बढ्दा पनि दुई बीचको सन्तुलन नमिल्दा व्यापार घाटा चप चुलिएको छ। साउनदेखि जेठसम्म नेपालको व्यापार घाटा १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।
यो गत अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.६७ प्रतिशतले बढी हो। यो गत अघिल्लो वर्षको सोही अवधिमा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँको व्यापार घाटा रहेको थियो।
तथ्यांकले कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि घटेको देखाएको छ। अघिल्लो वर्ष १३.०८ प्रतिशत रहेको निर्यातको योगदान चालु वर्षमा करिब १२ प्रतिशतमा झरेको छ। उता, आयातको हिस्सा ८६.९२ प्रतिशतबाट बढेर ८७.२० प्रतिशत पुगेको छ। यसले व्यापार विस्तार भए पनि निर्यातको तुलनामा आयात अझ तीव्र गतिमा बढिरहेको तथ्यांक प्रस्तुत गरेको छ।