• २०८३ असार १२
  • 2026 June 26, Friday

रास्वपा पदाधिकारीका लागि मतदान सुरू, कुन पदमा को-को उम्मेदवार ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ ।

उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदान सुरु भएको हो ।

प्रारम्भिक सूची प्रकाशित भएपछि दाबी–विरोधको प्रक्रिया, अन्तिम उम्मेदवार सूची प्रकाशन तथा विद्युतीय मतदान प्रणालीमा उम्मेदवारको विवरण प्रविष्ट गर्ने काम बाँकी रहेकाले मतदान ढिला सुरु भएको हो ।

यसअघि सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । खुला उपसभापतिमा विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि डा.स्वर्णिम वाग्ले पनि निर्विरोध निर्वाचित भएका छन्।

यस्तै, महामन्त्री पदका आकांक्षी कबिन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल (ललितपुर) र शिशिर खनाल तथा राजुनाथ पाण्डले समेत आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन्।

अब महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुनेछ । महिला उपसभापतिमा सोबिता गौतम र डा. तोसिमा कार्की प्रतिस्पर्धामा छन् ।

यसैगरी, महामन्त्री पदमा मनीष झा, विपिन आचार्य, सागर ढकाल, गणेश कार्की उम्मेदवार छन् ।

सहमहामन्त्री पुरुषका लागि प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त रहेका छन् ।

महिला सहमहामन्त्रीको काटोमा जुली यादव विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

पदाधिकारी चयनमा सहमतिको प्रयास भए पनि हुन नसकेकाले केही निर्धारित समयभन्दा ढिला मतदान सुरु भएको बताइएको छ ।