• २०८३ असार १५
  • 2026 June 29, Monday

सूर्यास्त हेर्दा त्यसले हाम्रो स्वास्थ्यमा के प्रभाव पर्छ?

मानिसहरूले सूर्योदय र सूर्यास्तलाई लगभग पुस्तकका दुई ‘बुकएन्ड्स’ जस्तै हेर्ने गरेको देखिन्छ। सुनौलो घडीको एउटा अनुभवले हाम्रो स्मरणशक्ति, निद्रा र मनोदशामा के प्रभाव पार्छ?

मेरो विवाह हुनुभन्दा अघिल्लो साँझ, म, मेरा आमाबुबा र हुन लागेका श्रीमान्ले अमेरिकाको म्यासाचुसेट्स राज्यस्थित केप कोडमा रहेको एउटा घरको बार्दलीबाट एउटा अविस्मरणीय सुन्दर सूर्यास्त हेर्यौँ।

केप कोड आफ्नो “गोल्डेन आवर” को प्रकाशका लागि प्रसिद्ध छ। लगभग चारैतिर पानीले घेरिएको साँघुरो भूभागमा रहेको यस स्थानमा सूर्य क्षितिजनजिक पुग्दा हावामा रहेको आर्द्रताले सूर्यको प्रकाशलाई छरिदिन्छ। त्यसले विशेष रूपमा जीवन्त सुन्तला, सुनौलो र गुलाबी रङहरूको यस्तो श्रृङ्खला सिर्जना गर्छ, जुन समुद्रमा नै पग्लिँदै गएको जस्तो देखिन्छ।

त्यो दिन पश्चिमबाट एउटा आँधी पनि आइरहेको थियो, जसका कारण फैलिँदै गएका ती रङहरू लगभग ‘साइकेडेलिक’ जस्ता देखिन्थे। पुरुषहरू त्यो दृश्यका तस्बिर खिचिरहेका थिए भने म र मेरी आमा सेप्टेम्बरको चिसो हावामा काँप्दै उभिएर त्यो दृश्य हेरिरहेका थियौँ। जब हामी फेरि घरभित्र फर्कियौँ, मैले आमालाई अँगालो हालेँ। विवाहअघिका हामीलाई सताइरहेका सबै साना ठुला चिन्ताहरू सूर्यसँगै अस्ताएजस्ता लागे।

जब हामी नकारात्मक सोचको चक्रमा फस्छौँ, सूर्यास्तजस्ता विस्मय जगाउने घटनाहरूले हाम्रो ध्यान आफूतिर खिच्न सक्छन्, जसले त्यो चक्र तोडेर हामीलाई फेरि वर्तमान क्षणमा फर्काइदिन्छ।

लामो दिनको अन्त्यसँगै आउने हल्कापनले पक्कै पनि त्यसमा भूमिका खेलेको थियो, तर सूर्यास्त हेर्नुले पनि त्यसमा योगदान दिएको हुन सक्छ। वास्तवमा, पछिल्ला वर्षहरूमा भएका अनुसन्धानहरूले सूर्यास्त र त्यसैगरी सूर्योदयले हाम्रो मस्तिष्क र मानसिक स्वास्थ्यमा अर्थपूर्ण प्रभाव पार्न सक्ने देखाएका छन्। यसले चिन्ता कम गर्न तथा स्मरणशक्ति, सिर्जनात्मकता, निद्रा तथा परोपकारी भावना बढाउन मद्दत गर्न सक्छ।

सूर्यास्तले उत्पन्न गर्ने विस्मय

यसका प्रमुख फाइदामध्ये एउटा सूर्यास्तले उत्पन्न गर्ने विस्मय हो, जसले हाम्रो स्वास्थ्यका धेरै पक्षमा आश्चर्यजनक प्रभाव पार्ने अनुसन्धानहरूले देखाएका छन्।

विस्मय भनेको हामीले कुनै विशाल, गहिरो र पूर्ण रूपमा बुझ्न नसकिने कुराको साक्षी बन्दा अनुभव गर्ने भावना हो। त्यो कुनै कलाकृति हुन सक्छ, कुनै मानवीय उपलब्धि; जस्तै: कसैलाई सन्तान जन्माइरहेको हेर्नु वा कुनै प्राकृतिक आश्चर्य। यस्तो अनुभवले हाम्रो दृष्टिकोण बदलिदिन्छ र प्रायः आँसु आउने वा जिउ सिरिङ्ग हुनेजस्ता शारीरिक प्रतिक्रिया पनि उत्पन्न गराउँछ। तर यसको प्रभाव यतिमै सीमित हुँदैन; यसले हाम्रो शरीर र मस्तिष्कभित्र अझ धेरै प्रक्रिया सञ्चालन गरिरहेको हुन्छ।

अमेरिकाको एरिजोना स्टेट युनिभर्सिटीकी सामाजिक मनोविज्ञानकी प्राध्यापक तथा लामो समयदेखि विस्मयमाथि अनुसन्धान गरिरहेकी मिशेल शिओटा भन्छिन्, “विस्मयको सबैभन्दा भरपर्दो विशेषतामध्ये एउटा भनेको आफू निकै सानो भएको अनुभूति हुनु हो-आफ्ना व्यक्तिगत समस्या, कठिनाइ र जीवन नै समग्र विश्वको विशाल परिप्रेक्ष्यमा महत्त्वहीनजस्ता लाग्न थाल्छन्। मानसिक स्वास्थ्यका लागि यो निकै राम्रो हुन्छ, किनभने त्यसपछि हामी महसुस गर्छौँ कि हामीलाई यति धेरै तनाव दिइरहेका केही कुरा वास्तवमा त्यति महत्त्वपूर्ण नै रहेनछन्।”

आफ्नै सोच र भावनामा अत्यधिक केन्द्रित हुँदा धेरै सोच्ने र चिन्ता बढ्न सक्छ। तर जब हामी नकारात्मक सोचको चक्रमा फस्छौँ, विस्मय जगाउने घटनाहरूले हाम्रो ध्यान पूर्ण रूपमा आफूतिर तान्छन्। यसले त्यो सोचको चक्र तोडेर हामीलाई फेरि वर्तमान क्षणमा फर्काइदिन्छ।

दृष्टिकोणमा आउने यस्तो परिवर्तनले मानिसहरूलाई बढी सामाजिक हितका व्यवहारतर्फ प्रेरित गर्छ, जस्तै- स्वयंसेवा गर्ने वा जीवनमा उद्देश्यको भावना अझ बलियो रूपमा अनुभव गर्ने।

यद्यपि, विस्मय जीवनका धेरै पक्षहरूबाट उत्पन्न हुन सक्छ; जस्तै- आध्यात्मिकता, नैतिक सौन्दर्य, उत्कृष्ट सङ्गीत वा आकर्षक दृश्य डिजाइन सर्वेक्षणहरूले देखाउँछन्; अधिकांश मानिसका लागि प्रकृति नै विस्मय उत्पन्न गर्ने सबैभन्दा ठूलो स्रोत हो।

मिशेल शिओटा भन्छिन्, “जब हामी अमेरिकाका मानिसहरूलाई उनीहरूले जीवनमा कहिले सबैभन्दा गहिरो विस्मय अनुभव गरेका थिए भनेर सोध्छौँ, सबैभन्दा धेरै आउने उत्तर प्राकृतिक घटनासँग सम्बन्धित हुन्छ। सामान्यतया, त्यो कुनै विशाल प्राकृतिक दृश्य हेरेको अनुभव हुन्छ।”

उनका अनुसार, सूर्यास्त र सूर्योदय यसको उत्कृष्ट उदाहरण हुन्। सन् २०२३ मा प्रकाशित एउटा अध्ययनमा २,५०० भन्दा बढी सहभागीलाई विभिन्न प्राकृतिक वातावरणका तस्बिरहरू देखाएर उनीहरूको प्रतिक्रिया मापन गरिएको थियो।

क्यानडाको टोरन्टो विश्वविद्यालयकी मनोविज्ञान अनुसन्धानकर्ता जेनिफर स्टेलर भन्छिन्,”सूर्यास्त असाध्यै सुन्दर हुन्छ, र सुन्दरताले सामान्यतया मानिसमा विस्मयको भावना उत्पन्न गर्छ। सूर्यास्तको सौन्दर्य यति गहिरो हुन्छ कि त्यसले मानिसलाई पूर्ण रूपमा त्यसैमा डुबाइदिन्छ। यसको आकार विशाल हुन्छ र सामान्यतया हामीले देख्ने आकाशभन्दा पूर्ण रूपमा फरक देखिन्छ।”

विस्मयलाई अझ शक्तिशाली बनाउने

हामीलाई राम्रो महसुस गराउनुका साथै, मनमोहक सूर्यास्तले जानकारी सम्झेर राख्ने हाम्रो क्षमता पनि बढाउन सक्छ। प्रविधिबाट सिर्जित ध्यान भङ्ग हुने अवस्थाहरूले भरिएको आजको समयमा यो निकै स्वागतयोग्य सम्भावना हो।

उदाहरणका लागि, विस्मयले मानिसलाई जानकारी राम्रोसँग सम्झन मद्दत गर्छ कि गर्दैन भन्ने परीक्षण गर्न मिशेल शिओटाले एउटा प्रयोग गरिन्। उनले सहभागीहरूलाई तीनवटा चलचित्र हेर्न लगाइन्, जसमध्ये एउटा विस्मय जगाउने विज्ञानसम्बन्धी चलचित्र थियो।

त्यसपछि सहभागीहरूलाई एउटा कथा सुनाइयो र तुरुन्तै त्यसका विवरण सम्झन भनियो।
विज्ञानसम्बन्धी चलचित्र हेरेका सहभागीहरूले सबैभन्दा सही रूपमा ती विवरण सम्झन सके।

जेनिफर स्टेलरका अनुसार यस्तो प्रभाव उत्पन्न हुँदा मस्तिष्कमा वास्तवमा के भइरहेको हुन्छ भन्ने कुरा अझै पूर्ण रूपमा बुझिएको छैन।

उनका अनुसार यसको एउटा सम्भावित कारण यो हुन सक्छ कि विस्मय जगाउने कुराले मानिसको सम्पूर्ण ध्यान आफूतिर केन्द्रित गरिदिन्छ, जसका कारण त्यसपछि प्राप्त हुने जानकारीमा पनि मानिस बढी केन्द्रित हुन्छ।

अनुसन्धानले यो पनि संकेत गर्छ कि नियमित रूपमा विस्मय अनुभव गर्नु मानसिक स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन सक्छ।

उदाहरणका लागि, एउटा अध्ययनले कोभिड-१९ महामारी का बेला मानिसहरूले अनुभव गरेको तीव्र र दीर्घकालीन तनावलाई नियमित रूपमा विस्मय अनुभव गर्नुले कम गर्न मद्दत गरेको पत्ता लगाएको थियो।

अर्को अध्ययनमा अनुसन्धानकर्ताहरूले केही वृद्धवृद्धाहरूलाई हरेक हप्ता छोटो पैदल यात्रा गर्दा विस्मयका क्षणहरू अनुभव गर्ने प्रयास गर्न भने।

त्यस्ता क्षणहरूमा शरद ऋतुका पातमा देखिने सुनौलो चमकदेखि लिएर कुनै सानो बालबालिकाको अनुहारमा देखिने आश्चर्यसम्मका दृश्यहरू समावेश थिए।

आठ हप्तापछि, उनीहरूलाई आफ्नो पैदल यात्रामा के देखे र कस्तो अनुभव गरे भन्नेबारे प्रश्नावली भराइयो।

विस्मय खोज्न भनिएका सहभागीहरूको उत्तर नियन्त्रण समूहका सहभागीहरूको तुलनामा धेरै बाहिरी संसारतर्फ केन्द्रित र बढी वर्णनात्मक थियो। नियन्त्रण समूहलाई भने विस्मय खोज्न भनिएको थिएन।

दुवै समूहलाई आफ्नो यात्राका क्रममा सेल्फी खिच्न पनि भनिएको थियो।

परिणामस्वरूप, विस्मय अनुभव गर्ने समूहका मानिसहरूको मुस्कान लगातार अझ फराकिलो देखियो। साथै, हप्ता बित्दै जाँदा उनीहरूले आफ्ना तस्बिरमा आफूलाई झन् सानो देखिने गरी खिच्न थाले र आफ्नो वरिपरिको प्राकृतिक वातावरणलाई बढी स्थान दिन थाले।

प्रकृतिमा पैदल यात्रा गर्दै सूर्यास्त पनि हेर्न पाउनु भनेको झन् शक्तिशाली विस्मय अनुभव गर्नुजस्तै हुन सक्छ।

जेनिफर स्टेलर भन्छिन्,”प्रकृतिका आफ्नै स्वास्थ्य लाभहरू छन्। सूर्यास्त भने प्रकृतिका त्यस्ता घटनामध्ये एक हो, जसले विशेष रूपमा विस्मय उत्पन्न गर्छ र यसको आफ्नै अतिरिक्त फाइदाहरू पनि छन्। त्यसैले मेरो अनुमानमा, प्रकृतिसँग सम्बन्ध नभएका घटनाहरूको तुलनामा सूर्यास्त विशेष रूपमा बढी लाभदायक हुन्छ।”

दैनिक मात्रा

सूर्यास्तहरू विस्मय जगाउने भरपर्दा स्रोत भएकाले तिनले हामीलाई विस्मयले दिन सक्ने स्वास्थ्य लाभहरूको दैनिक मात्रा प्रदान गर्न सक्छन्।

बारम्बार विस्मय अनुभव गर्नुले अझ व्यापक स्वास्थ्य लाभ पनि दिने देखिएको छ। उदाहरणका लागि, २०० जना सहभागीमा गरिएको एउटा अध्ययनमा जेनिफर स्टेलरले पत्ता लगाइन् कि आनन्द र विस्मय जस्ता सकारात्मक भावना बारम्बार अनुभव गर्ने मानिसहरूको शरीरमा साइटोकाइनको स्तर लगातार सबैभन्दा कम थियो। साइटोकाइनहरू शरीरमा हुने सूजनका सूचक हुन्।

स्टेलर भन्छिन्,”जसको शरीरमा दीर्घकालसम्म साइटोकाइनको मात्रा बढी हुन्छ, उनीहरूमा मधुमेह, हृदयसम्बन्धी रोग र अवसादको जोखिम पनि बढी हुने गर्छ।”

साँझपखको छरिएको प्रकाश सर्केडियन रिदमका लागि एउटा महत्त्वपूर्ण प्राकृतिक संकेत हो, जसले शरीरलाई बिस्तारै आरामको तयारी गर्न सन्देश दिन्छ।

विस्मयले साइटोकाइनमा यस्तो प्रभाव किन पार्छ भन्ने कुरा अझै निश्चित रूपमा थाहा छैन।

स्टेलर भन्छिन्,”यसको कारण मानिसहरूले अनुभव गर्ने आपसी सम्बन्धको भावना हुन सक्छ, किनकि सामाजिक साथ र सम्बन्धले सूजन बढाउने साइटोकाइनहरू कम गर्न मद्दत गर्न सक्छ।”

उनी थप्छिन्,”यो तनाव कम गर्ने यसको क्षमताका कारण पनि हुन सक्छ।”

विस्मयले तपाईंलाई अझ दयालु व्यक्ति पनि बनाउन सक्छ। किनभने यति विशाल र भव्य कुराको सामु आफूलाई सानो महसुस गर्दा मानिसमा परोपकारी व्यवहार बढ्ने देखिएको छ।

एउटा अध्ययनमा स्नातक तहका विद्यार्थीहरूलाई विशाल युकालिप्टसका रूखहरूको समूह वा एउटा भवन हेर्न लगाइयो।

त्यसपछि प्रयोगका क्रममा एउटा अनुसन्धानकर्ताले जानाजानी अनाडीपन देखाउँदै धेरैवटा कलम भुइँमा खसाले।

रूखहरू हेरेर विस्मय अनुभव गरेका विद्यार्थीहरूले भवन हेरेका विद्यार्थीहरूको तुलनामा अनुसन्धानकर्तालाई धेरै बढी कलम टिप्न सहयोग गरे।

त्यसैगरी, यदि तपाईं सूर्यास्तको सौन्दर्यबाट विस्मित हुनुभयो भने, तपाईंले आफ्नो वरिपरिका मानिसहरूलाई सहयोग गर्न वा उनीहरूप्रति अझ बढी करुणा देखाउन आफूलाई प्रेरित भएको महसुस गर्न सक्नुहुन्छ।

लेखिका भन्छिन्,”मेरो विवाह हुनुभन्दा अघिल्लो रात मैले पनि यही अनुभव गरेँ। सूर्यास्त हेरेपछि, त्यसअघिल्लो दिनको तुलनामा मैले धेरै काम गर्न स्वेच्छाले अघि सरेँ। त्यसले गर्दा विवाह मण्डपतर्फ हिँड्दा म आफूलाई अझ शान्त महसुस गरिरहेको थिएँ।”

राम्रो निद्रा

त्यो साँझ म किन बढी शान्त थिएँ भन्नेमा सूर्यको दैनिक चक्रले हाम्रो ‘सर्केडियन रिदम’लाई नियमन गर्ने प्रक्रियाले पनि भूमिका खेलेको हुन सक्छ।

सूर्योदयदेखि सूर्यास्तसम्म सूर्यको प्रकाशमा हुने प्राकृतिक परिवर्तनसँगको सम्पर्कले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ।

यसले हाम्रो सर्केडियन रिदम-अर्थात् हरेक २४ घण्टामा दोहोरिने प्राकृतिक सुत्ने-ब्युँझिने चक्रलाई व्यवस्थित राख्न मद्दत गर्छ, जसले अन्ततः निद्राको गुणस्तर सुधार गर्छ भन्ने कुरा अनुसन्धानले देखाएको छ ।

जब सर्केडियन रिदम हाम्रो प्राकृतिक वातावरणसँग मिल्छ, तब हाम्रो मस्तिष्कमा रहेको पिनियल ग्रन्थिले शरीरलाई आरामका लागि तयार पार्न कहिले र कति मात्रामा मेलाटोनिन उत्पादन गर्ने भन्ने कुरा सही रूपमा नियन्त्रण गर्न सक्छ।

सूर्योदयले पनि मद्दत गर्छ

सूर्यास्तले हाम्रो कोर्टिसोलको स्तर घटाउने काम गर्छ भने सूर्योदय प्राकृतिक रूपमा कोर्टिसोल बढाउने संकेत हो।

यसले हाम्रो आन्तरिक जैविक घडी सुरु गरिदिन्छ र सूर्य अस्ताउँदासम्म मेलाटोनिनको उत्पादन रोकिदिन्छ। त्यसपछि अन्धकार बढ्दै जाँदा मेलाटोनिनको मात्रा फेरि बढ्न थाल्छ।

सूर्योदय देख्नुले सेरोटोनिन नामक मनोदशा सुधार्ने रसायनलाई पनि विभिन्न तरिकाले सक्रिय बनाउँछ।

बिहानको घामले शरीरलाई भिटामिन डी प्राप्त गर्न मद्दत गर्छ, आँखाको रेटिनामा रहेका रिसेप्टरहरूलाई संकेत पठाएर शरीरभित्र सेरोटोनिन उत्पादन सुरु गराउँछ, साथै, सूर्यका अल्ट्राभायोलेट किरणहरूले पनि हाम्रो छालाबाट सेरोटोनिन उत्पादन हुन मद्दत गर्छ।

यद्यपि, सूर्योदयलाई सर्केडियन रिदम मिलाउने अझ शक्तिशाली प्राकृतिक संकेत मानिन्छ, साँझपखको छरिएको प्रकाशले पनि प्राकृतिक समय-सूचकका रूपमा महत्त्वपूर्ण भूमिका खेल्छ। यसले शरीरलाई बिस्तारै आरामको तयारी गर्न सुरु गर्ने संकेत दिन्छ।

जसरी दिनको निलो प्रकाशले हामीलाई ऊर्जावान बनाउँछ, त्यसरी नै सूर्यास्तका मुलायम राताम्य र सुनौलो रङहरूले प्यारासिम्पेथेटिक स्नायु प्रणालीलाई सक्रिय बनाउँछन्, जसले कोर्टिसोलको स्तर घटाएर अझ आरामदायी निद्रामा सहयोग पुर्‍याउँछ।

यसको विपरीत, रातिको समयमा कृत्रिम प्रकाशको सम्पर्कले यी प्राकृतिक संकेतहरूमा अवरोध पुर्‍याउँछ, जसका कारण निद्राको गुणस्तर बिग्रनुका साथै अन्य धेरै स्वास्थ्य समस्या पनि निम्तिन सक्छन्।

न्युयोर्कस्थित माउन्ट सिनाइको आइकान स्कुल अफ मेडिसिनमा प्रकाश र स्वास्थ्यसम्बन्धी अनुसन्धानकी प्राध्यापक मारियाना फिगेइरो भन्छिन्,”सर्केडियन रिदममा हुने अव्यवस्थालाई अवसाद र चिन्ताको जोखिम बढ्नुसँग सम्बन्धित पाइएको छ।”

हाम्रो सर्केडियन रिदमले कोर्टिसोलको दैनिक चक्र पनि नियन्त्रण गर्छ। जब यो लय बिग्रन्छ, आवश्यक नभएको समयमा पनि कोर्टिसोलको मात्रा बढ्न सक्छ।

सामान्य अवस्थामा, बिहान उठेको करिब ३० मिनेटपछि कोर्टिसोलको स्तर उच्च हुन्छ। यसले हामीलाई दिनभरका कामका लागि ऊर्जा प्रदान गर्छ। त्यसपछि दिन साँझतिर ढल्किँदै जाँदा यसको मात्रा विस्तारै घट्दै जान्छ।

तर नियमित रूपमा कृत्रिम प्रकाश, विशेष गरी सूर्य अस्ताइसकेपछि स्क्रिनबाट निस्कने निलो प्रकाशको सम्पर्कमा रहँदा, कोर्टिसोल उत्पादन गर्ने प्रणाली झुक्किन सक्छ र आवश्यकता नभएको बेलामा पनि बढी कोर्टिसोल उत्पादन गर्न सक्छ।

लामो समयसम्म कोर्टिसोलको स्तर उच्च रहिरहँदा अवसाद, चिन्ता, सोच्ने-सम्झने क्षमतामा कमी तथा हृदय तथा रक्तसञ्चार प्रणालीमा तनाव लगायतका धेरै स्वास्थ्य समस्या निम्तिन सक्छन्।

तर फिगेइरोका अनुसार उज्यालो र अन्धकारसँगको हाम्रो सम्पर्कलाई व्यवस्थित राखेर यस अवस्थालाई सन्तुलनमा ल्याउन सकिन्छ।

उनी भन्छिन्,”त्यसैले वैज्ञानिकहरूले हामीलाई ‘सूर्योदय र सूर्यास्त दुवै हेर्नका लागि बनाइएको हो-लगभग पुस्तकका दुई छेउ जस्तै’ भन्ने परिकल्पना गरेका हुनु कुनै आश्चर्यको कुरा होइन।”

यदि तपाईंको दैनिक तालिकाले सूर्योदय र सूर्यास्त दुवै हेर्न सम्भव बनाउँदैन भने वैज्ञानिकहरूसँग यसको एउटा सम्भावित विकल्प पनि छ।

सन् २०२४ मा प्रकाशित एउटा अध्ययनले सूर्यास्त र सूर्योदयको छरिएका रङहरू; जस्तै- प्रकाश दिने एलईडी बत्तीले मानिसहरूको सर्केडियन रिदमलाई उल्लेखनीय रूपमा नियमित बनाउन मद्दत गरेको पत्ता लगाएको थियो।

मेरो विवाहअघि देखेको त्यो सूर्यास्तपछि म राम्रोसँग सुत्न सकिनँ। तर भोलिपल्ट के हुन लागेको थियो भन्ने सोच्दा त्यो कुनै अचम्मको कुरा पनि थिएन।

यो शरद ऋतुमा हाम्रो विवाह भएको १० वर्ष पूरा हुँदैछ। अहिले म र मेरा श्रीमान् अवसर मिल्ने बित्तिकै हरेक सूर्यास्त हेर्ने गर्छौँ।

हामीले देखेका सबैभन्दा सुन्दर सूर्यास्तहरू अझै पनि केप कोडमै देखेका छौँ। हाम्रो वैवाहिक वर्षगाँठ मनाउन पनि हामी त्यहीँ जानेछौँ र आशा छ, फेरि त्यहीँको कुनै उपयुक्त बार्दलीबाट सूर्यास्तको आनन्द लिन पाउनेछौँ।