• २०८३ असार १६
  • 2026 June 30, Tuesday

मन्त्रालय तानिए भन्सार विभागका महानिर्देशक भण्डारी, निमित्तको जिम्मेवारी पाण्डेलाई

काठमाडौँ। अर्थ मन्त्रालयले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई मन्त्रालयमा तानेको छ। सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मन्त्रीस्तरीय निर्णयअनुसार भण्डारीलाई मन्त्रालयमा सरुवा गरिएको हो।

भण्डारीको सरुवासँगै भन्सार विभागको नेतृत्व उपमहानिर्देशक भरतमणि पाण्डेलाई निमित्त महानिर्देशकका रूपमा सुम्पिएको छ। मन्त्रालयले पाण्डेलाई विभागको दैनिक प्रशासनिक तथा कार्यसम्पादनको जिम्मेवारी दिएको हो।

भण्डारीलाई मन्त्रालयमा तान्ने निर्णय पछिल्लो समय रसुवा भन्सारमा देखिएको जाँचपाससम्बन्धी विवादसँग जोडिएको छ। बजेट भाषणअघि कर छली गर्ने उद्देश्यले रसुवा भन्सार कार्यालयबाट बीवाईडीका विद्युतीय कारहरू भौतिक रूपमा उपस्थित नगराई ‘कागजमा मात्र’ जाँचपास गरिएको पुष्टि भएको छ।

अर्थ मन्त्रालय र भन्सार विभागले गरेको विशेष अनुसन्धानले उक्त गम्भीर अनियमितता पुष्टि गरेपछि तत्कालीन प्रमुख भन्सार अधिकृतसहित १३ जना कर्मचारीलाई निलम्बन गरिएको छ।

जेठ १५ गतेको बजेट भाषणमार्फत विद्युतीय गाडीमा कर बढ्न सक्ने आँकलन गर्दै बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा‍लिले सेटिङमा गाडीहरू नाका नपुग्दै जाँचपास गराएको थियो। जेठ १३ र १४ गते गाडीहरू बाटोमै रहेको अवस्थामा रसुवा भन्सारका कर्मचारीहरूले प्रज्ञापनपत्र जारी गरी कर भुक्तानी लिएका थिए।

भन्सार ऐनअनुसार सवारीसाधन भौतिक रूपमा भन्सार यार्डमा उपस्थित भएपछि मात्र जाँचपास गर्नुपर्ने कानूनी व्यवस्था छ। तर, बीवाईडीका ४ सय ७२ वटा कारहरू नाकामा नआईकन कागजी प्रक्रियाबाट मात्रै पास गरिएको अनुसन्धानमा भेटिएको छ।

अनुसन्धान प्रतिवेदनका अनुसार बजेटअघिको १५ दिनमा जाँचपास भएकामध्ये ७० वटा ‘सिलायन सेभेन’ मोडलका कारहरू मात्रै बजेटपछि जाँचपास भएको भए राज्यले थप ३२ करोड रुपैयाँभन्दा बढी राजस्व प्राप्त गर्ने थियो। साइमेक्स इंकले राज्यलाई बुझाउनुपर्ने करोडौँ राजस्व छल्न भन्सार कर्मचारीसँग मिलेमतो गरेको देखिएको छ।

भन्सार विभागले तत्कालीन प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहित १३ कर्मचारीलाई पदीय जिम्मेवारी पूरा नगरेको र कानून उल्लंघन गरेको आरोपमा निलम्बन गरी विभागीय कारबाही गरिएको थियो। यसै प्रकरणमा विभागीय नेतृत्वलाई पनि नैतिक रूपमा जिम्मेवार मान्दै मन्त्रालयले भण्डारीलाई फिर्ता बोलाउने निर्णय गरेको स्रोतले जनाएको छ।

भण्डारीले करिब साढे १० महिना भन्सार विभागको नेतृत्व गरेका थिए। उनी २०८२ भदौ १ गते महानिर्देशक नियुक्त भएका थिए। अब मन्त्रालयले विभागको नेतृत्व निमित्त महानिर्देशकमार्फत अघि बढाउने भएको छ।