काठमाडौँ। नेपाल टेलिकम (एनटीसी) ले ग्राहकलाई उपलब्ध गराउने सिमकार्ड लगायत अन्य कागजात, चिठीपत्र, दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्स लगायतका सामग्रीहरु हुलाक सेवामार्फत ढुवानी गर्नेे भएको छ । टेलिकमले बिहिबार एक विज्ञप्ति जारी गर्दै सेवाग्राहीले चाहेमा कम्पनीका सिमकार्ड लगायतका अन्य सामग्री सेवाग्राहीको घरैसम्म हुलाकमार्फत उपलब्ध हुने जनाएको हो ।
यस सेवा उपलब्ध गराउने सम्बन्धमा नेपाल टेलिकम र हुलाक सेवा विभागबिच सम्झौता भएको हो । सम्झौता अनुसार आगामी साउन १ देखि हुलाक सेवा विभागमार्फत नेपाल टेलिकमका सिमकार्ड लगायत अन्य सामग्रीहरु ढुवानी गरिने जनाइएको छ ।
सम्झौता पत्रमा नेपाल टेलिकमकोतर्फबाट निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागको तर्फबाट महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले हस्ताक्षर गरे ।
सो अवसरमा निमित्त प्रबन्ध निर्देशक डंगोलले नेपाल टेलिकमले सेवाग्राहीलाई कम्पनीको कार्यालयमा उपस्थित नभएरै पनि विभिन्न सेवा उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिइरहेको र त्यसतर्फको यो अर्को महत्वपूर्ण कदम भएको बताइन । उनले नेपाल टेलिकम र हुलाक सेवा विभाग बिचको यो सहकार्यबाट कम्पनीका सेवाग्राहीहरु लाभान्वित हुने विश्वास व्यक्त गरिन ।
हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले जनताको घरदैलोमा सेवा पुर्याउने सरकारी लक्ष्यलाई व्यवहारमा लागु गर्नका लागि विभागले विभिन्न कार्य गरिरहेको बताउँदै त्यसतर्फको यो अर्को कदम भएको बताइन । उनले आगामी दिनमा नेपाल टेलिकमका सेवाग्राहीलाई अझै प्रभावकारी रुपमा सेवा प्रदान गर्न विभाग र कम्पनी बिचको सहकार्य अझै बढ्दै जाने विश्वास व्यक्त गरिन ।
सरकारी स्वामित्वका दुई ठूला संस्थाहरूबिच भएको यस सहकार्यले हुलाक सेवाको देशव्यापी सञ्जालको उपयोग गर्दै नेपाल टेलिकमको सेवा प्रवाहलाई अझ बढी प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउने विश्वास लिइएको छ ।