• २०८३ असार १८
  • 2026 July 02, Thursday

मर्चेन्ट बैंकर्स संघ र सेबोन अध्यक्ष भट्टबिच भेट, पुँजी बजारका प्राथमिकतामाथि छलफल

काठमाडौँ । नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्य र नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टबिच भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल मर्चेन्ट बैंकर्स संघले अध्यक्ष डा.भट्टको नेतृत्वमा नेपालको पुँजी बजार अझ प्रभावकारी, पारदर्शी र विश्वसनीय बन्ने विश्वास व्यक्त गरेको छ ।

भट्टले संघप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निजी क्षेत्रसँग सहकार्य र निरन्तर संवादलाई प्राथमिकता दिइने बताए ।

शुभकामना आदान प्रदान सँगै दुवै पक्षबीच नेपालको पुँजी बजारको विकाससँग सम्बन्धित विभिन्न समसामयिक विषयहरूमा विस्तृत छलफल भएको थियो । विशेषगरी म्युचुअल फण्ड, प्रारम्भिक सार्वजनिक निष्कासन तथा प्राइभेट इक्विटी सम्बन्धी विषयमा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने, लगानीमैत्री वातावरण सिर्जना गर्ने तथा पुँजी बजारलाई थप गतिशील र प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।

यसैगरी, बजारमा पारदर्शिता, सुशासन तथा नियामकीय प्रभावकारिता अभिवृद्धि गरी लगानीकर्ताहरूको विश्वास सुदृढ बनाउने आवश्यकतामाथि पनि दुवै पक्षबीच जोड दिइएको थियो । भेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

अन्त्यमा, संघले र सेबोन दुवैले नेपालको पुँजी बजारको दिगो, व्यवस्थित तथा समावेशी विकासका लागि आपसी सहकार्य, समन्वय र निरन्तर संवादलाई थप सुदृढ बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।