• २०८३ असार २०
  • 2026 July 04, Saturday

केप भर्डे : अर्जेन्टिनाका प्रशंसकहरूको सातो उडाउने एउटा सानो मुलुकका ६ विशेषताहरू

काठमाडौं । सन् २०२६ को फिफा विश्वकपमा पहिलो पटक सहभागिता जनाएको केप भर्डेले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेर विश्वभरका फुटबल प्रेमीहरूको ध्यान आफूतिर खिचेको छ। फिफा र्‍याङ्किङको ६४औँ स्थानमा रहेको यो सानो टापु राष्ट्रले विश्वको दोस्रो नम्बरको टोली अर्जेन्टिनालाई निर्धारित ९० मिनेटसम्म बराबरीमा रोकेर इतिहास रच्यो।

खेलको १११औँ मिनेटमा केप भर्डेका डाइनी बोर्गेसको आत्मघाती गोलका कारण अर्जेन्टिना विजयी त भयो, तर ५ लाख मात्र जनसङ्ख्या भएको यस मुलुकले स्पेन र उरुग्वे जस्ता विश्व विजेता टोलीहरूलाई कडा टक्कर दिँदै नकआउट चरणसम्म पुगेर सबैलाई अचम्ममा पारिदियो। ‘ब्लू शार्क्स’ नामले चिनिने यो टोली ग्रुप स्टेजमा एउटा पनि म्याच हारेको थिएन।

पश्चिमी अफ्रिकाको सेनेगल तटभन्दा ५०० किलोमिटर टाढा आन्ध्र महासागरमा अवस्थित यस सुन्दर देशका ६ मुख्य विशेषताहरू यस प्रकार छन्–

१, पोर्चुगिजहरू आउनुअघि यहाँ चमेरोको बासस्थान

करिब ४,००० वर्ग किलोमिटर क्षेत्रफल भएको केप भर्डेमा जम्मा १० वटा टापुहरू छन्, जसमध्ये ९ वटामा मात्र मानव बस्ती रहेको छ। प्राचीन कालदेखि पोर्चुगिजहरू आउनुअघिसम्म यस टापु समूहमा ‘ग्रे लङ–इयर्ड ब्याट’ (धूसर लामो कान भएको चमेरो) मात्र एकमात्र रैथाने वा स्थानीय प्रजातिका रूपमा बस्ने गर्दथ्यो।

ऐतिहासिक अभिलेख अनुसार, सन् १४५६ मा पोर्चुगिजहरू यहाँ आइपुगेपछि उनीहरूले दक्षिणी टापु सैन्टियागोमा ‘रिबेरा ग्रान्ड’ नामक बस्ती बसाएका थिए, जसलाई आज ‘सिदादे वेल्हा’ भनिन्छ। क्षेत्रकै पहिलो युरोपेली औपनिवेशिक सहर मानिने यो ऐतिहासिक स्थल देशको वर्तमान राजधानी एवं सबैभन्दा ठूलो सहर ‘प्राया’ बाट केही किलोमिटरको दूरीमा अवस्थित छ।

सैन्टियागो टापुमा अवस्थित सिदादे वेल्हा। यस क्षेत्रकै पहिलो युरोपेली औपनिवेशिक सहर र केप भर्डेको पहिलो राजधानी।

२, अफ्रिका र अमेरिकाबीच दास व्यापारको प्रमुख केन्द्र

अफ्रिका र अमेरिकाको बीचमा रहेको रणनीतिक अवस्थितिका कारण १६औँ शताब्दीमा केप भर्डे दास व्यापारको एउटा ठूलो केन्द्र बन्यो । करिब ३०० वर्षसम्म चलेको यो अमानवीय व्यापारका क्रममा हरेक वर्ष हजारौँ अफ्रिकी दासहरूलाई यहाँ ल्याएर युरोप र अमेरिकामा बेचिन्थ्यो।

यही इतिहासका कारण आज यहाँको बहुसंख्यक जनसङ्ख्या मिश्रित अफ्रिकी र युरोपेली (मुख्यतः पोर्चुगिज) मूलका छन्। यहाँको आधिकारिक भाषा पोर्चुगिज भए तापनि धेरैजसो नागरिक ‘केप भर्डियन क्रियोल’ भाषा बोल्छन्। देशको ७२.५ प्रतिशत जनसङ्ख्या क्याथोलिक धर्म मान्दछन्।

सन् १८५६ को एक चित्रणमा देखाइएका केप भर्डेका बासिन्दाहरू।

३, जनसङ्ख्याभन्दा दोब्बर बढी पर्यटकहरूको रोजाइ

यो देश क्षेत्रफलको हिसाबले ल्याटिन अमेरिकाको सबैभन्दा सानो देश एल साल्भाडोरको पाँचौँ भागभन्दा पनि सानो छ। यहाँ केवल ११ प्रतिशत भूमि मात्र खेतीयोग्य छ।

सन् २०२४ को तथ्याङ्क अनुसार यहाँको जनसङ्ख्या करिब ५ दशमलव २४ लाख थियो, तर सोही वर्ष यहाँ १२ लाखभन्दा बढी पर्यटकहरू घुम्न आएका थिए। पर्यटन नै यहाँको अर्थतन्त्रको सबैभन्दा ठूलो आधार हो, जसले देशको कुल गार्हस्थ्य उत्पादनमा करिब २५ प्रतिशत हिस्सा ओगट्छ।

एक रोचक तथ्य यस्तो पनि छ, केप भर्डेमा बस्ने नागरिकभन्दा विदेशमा (विशेष गरी पोर्चुगल र अमेरिकामा) बस्ने केप भर्डेलीहरूको सङ्ख्या धेरै छ। अनुमान अनुसार संसारभर करिब २० लाख केप भर्डेवासीहरू प्रवासीका रूपमा बस्छन्। यद्यपी, पर्याप्त अध्ययन र अनुसन्धानबिना गरिएको यो अनुमानमा केही विज्ञहरुले प्रश्न पनि उठाएका छन् ।

घाम, सुन्दर समुद्री तट (बीच) र अन्य आकर्षणहरूको खोजीमा हरेक वर्ष पहिलेभन्दा धेरै पर्यटकहरू केप भर्डे पुगिरहेका छन्।

४, अफ्रिकाकै सबैभन्दा स्थिर लोकतन्त्रमध्ये एक

सन् १९५१ मा पोर्चुगलले केप भर्डेको दर्जा उपनिवेशबाट बदलेर वैदेशिक प्रान्त गरिदियो। तर यो परिवर्तनले त्यहाँका जनताको वास्तविक स्वशासन र स्वतन्त्रताको बढ्दो चाहनालाई पूरा गर्न सकेन। सन् १९५० र १९६० को दशकमा अमिल्कार काब्राल जस्ता स्थानीय नेताहरूले गिनी–बिसाउको स्वतन्त्रता आन्दोलनका साथ मिलेर पोर्चुगाली शासनविरुद्ध सशस्त्र सङ्घर्ष सुरु गरे। यो रक्तपातपूर्ण मुक्ति सङ्ग्राम अन्ततः ५ जुलाई १९७५ मा केप भर्डेको स्वतन्त्रतासँगै समाप्त भयो।

स्वतन्त्रतापछि सन् १९९० सम्म केप भर्डेमा एकदलीय शासन व्यवस्था रह्यो। त्यसपछि ‘मुभमेन्ट फर डेमोक्रेसी’को उदयसँगै बहुदलीय राजनीतिको बाटो खुल्यो र जनवरी १९९१ मा देशमा पहिलो पटक बहुदलीय निर्वाचन आयोजना गरियो।

त्यसबेला देखि केप भर्डेले शान्तिपूर्ण र स्थिर राजनीतिक व्यवस्था कायम राखेको छ। यहाँ सत्ताको हस्तान्तरण लोकतान्त्रिक तरिकाले हुँदै आएको छ। अफ्रिकी महादेशका धेरै देशहरूमा राजनीतिक उथलपुथल भइरहँदा केप भर्डेमा भने सधैँ शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट सत्ता हस्तान्तरण हुँदै आएको छ।

देशको संस्थागत व्यवस्थामा जनताद्वारा निर्वाचित राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभा (संसद) र सर्वोच्च अदालत सामेल छन्। सत्ता परिवर्तनको यो लोकतान्त्रिक परम्परा सन् २०२१ मा फेरि बलियो भयो, जब सेन्टर–लेफ्ट विपक्षी नेता जोस मारिया नेभेसले राष्ट्रपति चुनाव जिते। उनको जितसँगै सेन्टर–राइट एमपीडी पार्टीको झन्डै १० वर्षको राजनीतिक वर्चस्वको अन्त्य भयो।

५ जुलाई १९७५ मा पोर्चुगिज शासनबाट स्वतन्त्र भएपछि केप भर्डेमा सन् १९९० सम्म एकदलीय व्यवस्था थियो। तर सन् १९९१ मा पहिलो पटक बहुदलीय चुनाव भएदेखि यहाँको राजनीतिक व्यवस्था अत्यन्तै शान्त र स्थिर छ।

सेप्टेम्बर २०२४ मा अमिल्कार काब्रालको जन्मशताब्दीको अवसरमा रङ्गभेद र औपनिवेशिक विरासतको विरोधमा केप भर्डेका जनताले लिस्बनमा मार्च (र्‍याली) निकाले।

५, न नदी, न ताल, केवल ज्वालामुखी

केप भर्डेको जलवायु अत्यन्तै सुक्खा छ। यहाँ कुनै पनि नदी वा प्राकृतिक ताल छैन। त्यसैले पिउने पानीका लागि यहाँका नागरिकहरू पूर्ण रूपमा समुद्री पानीलाई शुद्धीकरण गर्ने ‘डिसैलिनेशन प्लान्ट’मा निर्भर छन्। यहांँ बारम्बार खडेरी परिरहन्छ।

यो टापु समूह ज्वालामुखीको गतिविधिबाट बनेको हुनाले यहाँको भूभाग उबड–खाबड र चट्टानी छ। देशको सबैभन्दा अग्लो स्थान ‘पिको दो फोगो’ (२,८२९ मिटर) यहाँको एकमात्र सक्रिय ज्वालामुखी हो, जसमा पछिल्लो पटक सन् २०१४–२०१५ मा ठूलो विस्फोट भएको थियो।

१५औँ शताब्दीयता पिको दो फोगो ज्वालामुखीमा २८ पटक विस्फोट दर्ता भइसकेको छ।

६, सङ्गीत परम्परा– मोर्ना र फुनाना

केप भर्डे आफ्नो मौलिक र अनौठो सङ्गीतका लागि विश्वभर चिनिन्छ। यहाँको सबैभन्दा प्रख्यात सङ्गीत विधा ‘मोर्ना’ हो, जसलाई सन् २०१९ मा युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा शामिल गरेको थियो। यो सङ्गीतले आफ्नो देश र प्रियजनबाट टाढा रहँदाको पीडा र गहिरो लगावलाई व्यक्त गर्दछ।

विश्वप्रसिद्ध गायिका सेजारिया एभोरा जसलाई ‘नाङ्गो खुट्टाकी दिवा’ (Barefoot Diva) पनि भनिन्छ, उनले मोर्ना गायनमार्फत केप भर्डेको सङ्गीतलाई संसारभर पुर्‍याइन्। यहाँको अर्को लोकप्रिय र द्रुत लयको सङ्गीत शैली ‘फुनाना’ हो, जुन उत्सव र नृत्यहरूमा बढी बजाइन्छ।

सेजारिया एभोरा केप भर्डेको इतिहासकै सबैभन्दा प्रसिद्ध र सबैभन्दा बढी अन्तर्राष्ट्रिय पहिचान पाएकी कलाकार हुन्।

– बीबीसी हिन्दीबाट

याे पनि पढ्नुहाेस् । 

विश्वकपबाट चर्चामा आएको केप भर्डे कहाँ छ, कस्तो देश हो ?