साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.२९ अंक घटेर २,६२७.११ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार पनि बजार घटेको थियो भने सोमबार उक्त दबाबले निरन्तरता पाएको हो। यससँगै सेन्सेटिभ इन्डेक्स ०.७६ प्रतिशत घटेर ४५६.२७ विन्दुमा पुगेको छ।
आज ३५६ वटा कम्पनीका ७५ लाख ४० हजार ४१८ कित्ता सेयर ४६ हजारभन्दा बढी कारोबारमार्फत खरिदबिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब ५५ करोड ७९ लाख रुपैयाँमा सीमित रह्यो। शुक्रबारको तुलनामा कारोबार रकम पनि घटेको हो। दिनभरको कारोबारमा ३४ कम्पनीको सेयर मूल्य बढ्दा २३९ कम्पनीको घट्यो भने ४ कम्पनीको मूल्य स्थिर रह्यो।
बजारमा सूचीकृत १३ वटै उपसमूह राताम्य भए। व्यापार समूह सबैभन्दा धेरै ३.१५ प्रतिशतले घट्दा बैंकिङ, फाइनान्स, उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, निर्जीवन बीमा, जीवन बीमा, लगानी, होटल तथा पर्यटन, विकास बैंक, लघुवित्त, म्युचुअल फन्डलगायत सबै समूहमा गिरावट देखियो।
यद्यपि केही नयाँ सूचीकृत कम्पनीहरूमा भने उत्साह कायम रह्यो। सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर ११.५५ प्रतिशत र बाराही हाइड्रोको ४.०२ प्रतिशतले बढ्यो। विपरीत रूपमा थ्रीस्टार हाइड्रोपावर १३.७९ प्रतिशतले घट्दै सबैभन्दा धेरै गुमाउने कम्पनी बन्यो। नेपाल फाइनान्स, खानीखोला हाइड्रोपावर र उपकार लघुवित्तको सेयर मूल्यमा पनि उल्लेख्य गिरावट देखियो।
कारोबार रकमका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८४ शीर्ष स्थानमा रह्यो, जसको ५३ करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यसपछि सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर तथा डेभलपमेन्ट र आँखुखोला जलविद्युत् सक्रिय कारोबार हुने कम्पनीमा परे।