काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिहरूसँग औपचारिक छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बिहान ११ बजे तय गरिएको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत प्रमुख निजी क्षेत्रका संस्थाका प्रतिनिधि सहभागी हुनेछन्।
बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था, सुस्त आर्थिक गतिविधि, लगानी विस्तारमा देखिएका अवरोध, व्यवसाय सञ्चालनका चुनौती तथा लगानीमैत्री वातावरण निर्माणका उपायबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।
निजी क्षेत्रले पछिल्ला महिनाहरूमा आर्थिक गतिविधि सुस्त बनेको, लगानीको वातावरणमा सुधार आवश्यक रहेको तथा व्यवसायमैत्री नीति कार्यान्वयन गर्न सरकारको सक्रिय पहल अपरिहार्य रहेको धारणा राख्दै आएको छ। यस्तो अवस्थामा प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग प्रत्यक्ष संवाद सुरु गर्न लागेको बैठकलाई अर्थतन्त्र चलायमान बनाउने प्रयासका रूपमा हेरिएको छ।