• २०८३ असार २७
  • 2026 July 11, Saturday

वीर अस्पतालले भन्यो- गणेशको अवस्था गम्भीर छ, जुनसुकै बेला थप जटिल बन्न सक्छ

काठमाडौँ। बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको वीर अस्पतालले जनाएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै अस्पतालले नेपालीको स्वास्थ्य अवस्था अस्थिर रहेकाले जुनसुकै बेला थप जटिल बन्न सक्ने जानकारी दिएको हो।

अस्पतालका अनुसार गणेशको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। विशेषगरी अनुहारमा लागेको गम्भीर जलनका कारण श्वासप्रश्वास प्रणाली प्रभावित भएकाले उपचार चुनौतीपूर्ण बनेको चिकित्सकहरूले बताएका छन्। हाल उनलाई वीर अस्पतालको बर्न आइसियुमा मेकानिकल भेन्टिलेटरमा राखेर जीवनरक्षक औषधिको सहायतामा उपचार भइरहेको छ।

उपचारका लागि प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेषज्ञ टोली चौबीसै घण्टा खटिएको अस्पतालले जनाएको छ।

गणेशलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिए पनि उनको स्वास्थ्य अवस्था स्थिर हुन नसकेकाले योजना तत्काल कार्यान्वयन गर्न नसकिएको अस्पतालको भनाइ छ। उच्च रक्तचाप र भेन्टिलेटरको सहारामा रहेका बिरामीलाई अहिले नै स्थानान्तरण गर्दा थप जोखिम हुने भएकाले स्वास्थ्यमा सुधार आएपछि मात्रै त्यसबारे निर्णय गरिने अस्पतालले स्पष्ट पारेको छ।

पत्रकार सम्मेलनमा चिकित्सकहरूले बिरामीको अवस्थाबारे अहिले नै निश्चित पूर्वानुमान गर्न नसकिने उल्लेख गर्दै उपचारलाई निरन्तरता दिइएको र स्वास्थ्य अवस्थाको नजिकबाट निगरानी भइरहेको जानकारी दिएका छन्।