• २०८३ असार २७
  • 2026 July 11, Saturday

संसदमा विपक्षी सासंदहरुको एक स्वर- आफ्ना पीडा सुनाउन नागरिकले जिउँदै जल्नुपर्ने अवस्था आयो

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाप्रति सरकारको जवाफ माग गरेकी छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले गणेश नेपालीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त घट्नामा प्रधानमन्त्री मैन बसेको भन्दै आपत्ति जनाइन् । जीवनसाथी, सन्तान र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् ।

उनले सरकार नागरिकका पीडा सम्बोधन गर्न गम्भीर नभएको आरोप लगाइन् ।

उनले भनिन्,‘मिति २०७९ माघ १० गते प्रेम आचार्यले नयाँ बानेश्वर संसद भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नुभएको स्ट्याटस आज पनि सम्झिनु भएको छ कि बिर्सिनु भयो प्रधानमन्त्री ज्यु? हिजोको घटनामा तपाईं, तपाईंको मौनता किन? विपक्षमा हुँदा राज्यले राज्यको सफलता माथि कठोर प्रश्न उठाउने तपाईं आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाफ दिनबाट किन टाढा हुनुहुन्छ?’

थापाले राज्यको कमजोरीका कारण नागरिकले आत्मदाहजस्तो कठोर कदम चाल्नुपर्ने अवस्था आएको बताइन् । उनले गणेश नेपालीको उद्धार प्रक्रियामाथि समेत प्रश्न उठाइन् ।

‘राज्य आतङ्कका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मूकदर्शक बन्यो,’ उनले भनिन्, ‘शरीर आगोमा दन्किरहेको बेला एम्बुलेन्स पठाउनुको सट्टा प्रहरी प्रशासन लगाएर अपराधी झैँ घिसारेर लगियो भन्ने कुरा आएको छ । यो उद्धार हो कि गिरफ्तारी हो सरकार ?’

उनले गणेश नेपालीले कुनै अपराध नगरेको भन्दै राज्यले नागरिकको जीवन रक्षा र समस्या समाधानमा ध्यान दिनुपर्ने बताइन् ।

थापाले पछिल्ला समय नागरिकले विभिन्न समस्याका कारण आत्महत्या तथा आत्मदाह गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै सरकारलाई गम्भीर बन्न आग्रह गरिन् ।

‘के राज्य साँच्चिकै यति निरही र असफल भइसकेको हो कि आफ्ना पीडा सुनाउन नागरिकहरूले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था आउँछ ?’ उनले प्रश्न गरिन् ।

उनले सरकारलाई नागरिकको सुरक्षाका लागि रोजगारी सिर्जना, सुशासन र न्याय सुनिश्चित गर्न आग्रह गरिन् ।

‘सुरक्षा तब महसुस हुन्छ जब राज्यले न्याय दिन्छ, रोजगारी सिर्जना गर्छ, सुशासन कायम गर्छ र नागरिकमा भविष्यप्रतिको भरोसा जगाउँछ,’ थापाले भनिन् ।

उनले सवारी साधनमा लगाइने जरिवाना र राज्यका नीतिहरू नागरिकमैत्री भए–नभएको समीक्षा गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी छन् ।

सांसद विकले सरकारको सय दिनको उपलब्धि सीमित हुँदै गएको आरोप लगाइन् । उनले गरिब तथा विपन्न नागरिकहरूले आफ्ना समस्या समाधान नभएपछि चरम कदम चाल्नुपर्ने अवस्था आएको बताइन् ।

‘सरकारको सय दिन सय दिनमै सीमित हुँदैछ । गणेश नेपालीजस्ता गरिब नागरिकहरूले जिउँदै जलेर मर्नुपर्ने अवस्था आएको छ,’ उनले भनिन् ।

उनले नेपाली जनता नै देशका सबैभन्दा सार्वभौम अधिकार सम्पन्न शक्ति भएको उल्लेख गर्दै जनताको धैर्यको परीक्षा नलिन सरकारलाई चेतावनी दिइन् ।

‘यो देशमा सबैभन्दा सार्वभौम अधिकार सम्पन्न नेपाली जनता हुन् । हिजो पनि वीर बलभद्र कुँवर, भक्ति थापाजस्ता वीरहरूको अगुवाइमा यो देश बचाएका हुन् । आज पनि नेपाली जनता सार्वभौम छन्,’ उनले भनिन् ।

सांसद विकले सरकारमा घमण्ड र अराजकता बढ्दै गए जनताले संविधानले दिएको अधिकार प्रयोग गर्न सक्ने चेतावनी दिइन् ।

उनले गणेश नेपालीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिन् ।

‘गणेश नेपालीको घटना पश्चात भएको मृत्युको खबरले निकै दुःखी बनाएको छ । मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । नाताले उहाँ मेरो कतै आफन्त पनि पर्नुहुन्छ,’ उनले भनिन् ।

यसैबीच, गोकर्णेश्वर क्षेत्रमा लोड गरिएको गाडीमा ग्यास सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको मृत्यु भएको घटनाप्रति पनि सांसद विकले सरकारको ध्यानाकर्षण गराइन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले नागरिकबाट कर उठाए पनि त्यसअनुसार सेवा सुविधा दिन नसकेको आरोप लगाएका छन् ।

सांसद शाहीले आजका नागरिकले औसत ४० प्रतिशतभन्दा बढी कर तिर्ने गरेको भए पनि राज्यले शिक्षा, स्वास्थ्य, सडक र पार्किङजस्ता आधारभूत सुविधा उपलब्ध गराउन नसकेको बताए ।

उनले कर तिरेबापत नागरिकले सुविधा पाउनुपर्ने भए पनि अहिले उल्टै दुःख, निराशा र आत्महत्याको अवस्था सिर्जना भइरहेको टिप्पणी गरे । उनले गणेश नेपालीको घटनालाई उदाहरण दिँदै राज्यको कमजोरीका कारण यस्तो अवस्था आएको आरोप लगाए ।

‘आजका नागरिकले औसत ४० प्रतिशतभन्दा बढी कर तिर्छन् । तर राज्यले के दिन्छ रु न शिक्षा निःशुल्क छ, न स्वास्थ्य निःशुल्क छ, न गतिलो बाटो छ, न पार्किङको व्यवस्था छ । कर लिएपछि त्यसको बदलामा सुविधा दिनुपर्छ,’ उनले भने ।

सांसद शाहीले गृहमन्त्रीको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् । उनले गृहमन्त्रीले जनताको जीवन बचाउनेभन्दा मिडिया र प्रचारमा बढी ध्यान दिएको आरोप लगाए ।

‘तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर हो ? हिजो गृहमन्त्री चलचित्रको नायकजस्तो मिडिया घेरेर कहिले विमानस्थल, कहिले कता दौडिरहनुभएको थियो,’ उनले भने ।

उनले गृहमन्त्रीको प्राथमिकता भिडियो बनाउने नभई नागरिकको जीवन रक्षा गर्ने हुनुपर्ने बताए ।

‘हामीलाई गृहमन्त्रीले कति भिडियो बनाउनुभयो, कति युट्युब चलाउनुभयो भन्ने मतलब छैन । महत्वपूर्ण कुरा गृहमन्त्रीको आदेशबाट जनताको जीवन बच्यो कि बचेन भन्ने हो,’ शाहीले भने ।