काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म नेपालका २० वाणिज्य बैंकले कुल ६४ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार वाणिज्य बैंकहरूको ११ महिनाको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १९ प्रतिशतले बढेको हो।
गत वर्ष यही अवधिमा वाणिज्य बैंकहरूको संयुक्त खुद नाफा ५३ अर्ब ९७ करोड रुपैयाँ थियो।
वैशाख मसान्तसम्म ५६ अर्ब ४७ करोड रुपैयाँ रहेको कुल नाफा एक महिनामै ८ अर्बभन्दा बढीले बढेर जेठ मसान्तसम्म ६४ अर्ब ५६ करोड रुपैयाँ पुगेको हो। यस अवधिमा सञ्चालनमा रहेका सबै २० वाणिज्य बैंक नाफामा रहेका छन् भने कुनै पनि बैंक घाटामा गएको छैन।
नाफाका आधारमा नबिल बैंक पहिलो स्थानमा रहेको छ। बैंकले ८ अर्ब ४९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको तुलनामा ३२.५२ प्रतिशत बढी हो।
दोस्रो स्थानमा ग्लोबल आइएमई बैंकले ५ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ। यद्यपि, यसको नाफा अघिल्लो वर्षको तुलनामा करिब १ प्रतिशतले घटेको देखिन्छ।
तेस्रो स्थानमा रहेको कुमारी बैंकले ४ अर्ब ७० करोड ७० लाख रुपैयाँ नाफा आर्जन गर्दै सबैभन्दा उच्च वृद्धिदर हासिल गरेको छ। गत वर्ष ३७ करोड रुपैयाँमा सीमित रहेको बैंकको नाफा यस वर्ष ११६८ प्रतिशतभन्दा बढीले बढेको हो।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४९ करोड, एभरेष्ट बैंकले ४ अर्ब १२ करोड, प्राइम कमर्सियल बैंकले ३ अर्ब ७४ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ७२ करोड, एनएमबि बैंकले ३ अर्ब ६३ करोड तथा नेपाल बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएका छन्। राष्ट्रिय वाणिज्य बैंकको नाफा करिब ६८ प्रतिशतले बढेको छ भने एनएमबि बैंकको नाफा पनि झन्डै २० प्रतिशतले वृद्धि भएको छ। अर्कोतर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एभरेष्ट बैंकको नाफा क्रमशः २१ प्रतिशत र २ प्रतिशतले घटेको छ।
अन्य बैंकहरूमध्ये सानिमा बैंकले ३ अर्ब १२ करोड, लक्ष्मी सनराइज बैंकले २ अर्ब ८९ करोड, सिद्धार्थ बैंकले २ अर्ब ८० करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले २ अर्ब ६२ करोड, माछापुच्छ्रे बैंकले २ अर्ब १७ करोड, कृषि विकास बैंकले १ अर्ब ९५ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब ८३ करोड, सिटिजन्स बैंकले १ अर्ब ७४ करोड, प्रभु बैंकले १ अर्ब ५० करोड र हिमालयन बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएका छन्।
सबैभन्दा कम नाफा एनआईसी एशिया बैंकको ५० करोड ७७ लाख रुपैयाँ रहेको छ।
नाफामा उल्लेख्य सुधार देखिए पनि बैंकहरूको कर्जा जोखिम भने अझै चूनौतीपूर्ण रहेको तथ्यांकले देखाएको छ। जेठ मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ७५ अर्ब ८२ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्था (लोन लस प्रोभिजन) गरेका छन्। यो खुद नाफाभन्दा करिब ११ अर्ब २६ करोड रुपैयाँ बढी हो।
वैशाखको तुलनामा कर्जा नोक्सानी व्यवस्था ४.११ प्रतिशतले बढेको छ भने विशेष कर्जा नोक्सानी व्यवस्था मात्रै ५३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। यसले बैंकहरूले कमाएको नाफाको ठूलो हिस्सा सम्भावित खराब कर्जा तथा जोखिम व्यवस्थापनमै खर्च भइरहेको संकेत गर्छ।
कर्जा नोक्सानी व्यवस्थातर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा धेरै १२ अर्ब ५१ करोड रुपैयाँ छुट्याएको छ। त्यसपछि कुमारी बैंकले १० अर्ब १९ करोड, लक्ष्मी सनराइज बैंकले ६ अर्ब २३ करोड, राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ३६ करोड, कृषि विकास बैंकले ५ अर्ब १३ करोड, एनएमबि बैंकले ४ अर्ब ९४ करोड, नेपाल बैंकले ४ अर्ब ९२ करोड, एनआईसी एशिया बैंकले ४ अर्ब ६३ करोड, प्रभु बैंकले ४ अर्ब १५ करोड र ग्लोबल आइएमई बैंकले ३ अर्ब ९१ करोड रुपैयाँ व्यवस्था गरेका छन्।
नाफामा सुधार आए पनि बढ्दो कर्जा नोक्सानी व्यवस्था र खराब कर्जाको जोखिमले बैंकिङ क्षेत्रमाथि दबाब कायम रहेको देखिएको छ।