काठमाडौँ। काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न विवाद अन्त्य गर्न नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ। सहमतिसँगै परिवार शव बुझ्न सहमत भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको उपस्थितिमा भएको वार्तापछि राहत, रोजगारी, शिक्षा, निष्पक्ष छानबिन तथा कानुनी प्रक्रियालगायत विषय समेटेर सहमति भएको हो।
सहमति अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। समितिले गठन भएको सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन बुझाउनेछ। सोही प्रतिवेदन र प्रचलित कानुनका आधारमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख छ।
घटनाका दिन अग्रपंक्तिमा खटिएका काठमाडौं महानगरपालिकाका नगर प्रहरी कर्मचारीलाई छानबिन प्रतिवेदन नआएसम्मका लागि निलम्बन गरिने तथा प्रतिवेदनको निष्कर्षका आधारमा आवश्यक थप कारबाही अघि बढाइनेछ।
पीडित परिवारका लागि राहत तथा पुनर्स्थापनासम्बन्धी व्यवस्था पनि सहमतिमा समेटिएको छ। महानगरपालिकाले आगामी कार्यपालिका बैठकबाट निर्णय गरी गणेश नेपालीकी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी उपलब्ध गराउने, उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यहोर्ने तथा आश्रित परिवारलाई उचित राहत रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
यस्तै, अन्त्येष्टि तथा काजकिरियाको सम्पूर्ण खर्च, आफन्तहरूको काठमाडौं आवतजावत र बसोबास खर्च महानगरपालिकाले बेहोर्नेछ। शव बुझ्ने, पोस्टमार्टमलगायतका कानुनी प्रक्रिया सहज बनाउने तथा परिवारका एकाघरका सदस्यको स्वास्थ्य बीमाको व्यवस्था मिलाउने विषयमा पनि सरकार र महानगरले जिम्मेवारी लिने सहमति भएको छ।
गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा असार २५ गते वीर अस्पतालको बर्न युनिटमा निधन भएको थियो। त्यसपछि सरकारसँग सहमति नभएसम्म परिवारले शव बुझ्न अस्वीकार गरेको थियो।
सहमतिपत्रमा नेपाल सरकारका तर्फबाट प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन्। पीडित परिवारका तर्फबाट गणेश नेपालीकी श्रीमती एकमाया नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपाली, बहिनी सुन्दरी नेपालीसहित वार्ता टोलीका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।


