• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औं साधारण सभा सम्पन्न, ४.२८ प्रतिशत बोनस शेयर पारित

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो ३२औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ। बुधबार (असार ३१ गते) काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा कम्पनीको उक्त सभा सम्पन्न भएको हो।

सभाले सञ्चालक समितिको तर्फबाट पेश गरिएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनका साथै सोही अवधिको वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू सर्वसम्मतिले पारित गरेको छ।

कम्पनीको यस सभाले शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशतका दरले हुन आउने ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

यसैगरी, बोनस शेयरको कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत (५२ लाख १० हजार ५ सय २६ रुपैयाँ ३२ पैसा) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाबाट स्वीकृत भएको छ। बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले हाल देशभर १०४ वटा शाखा, उप-शाखा, तेस्रोपक्ष बीमा काउन्टर र प्रादेशिक कार्यालयहरू मार्फत बीमा सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ। २०८३ साल जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार कम्पनीले आफ्नो संजाललाई मजबुत बनाउँदै लगेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ मा पनि शेयरधनीहरूलाई अपेक्षित प्रतिफल दिन र कम्पनीको निर्धारित लक्ष्य हासिल गर्न सम्पूर्ण बीमा परिवार क्रियाशील रहने प्रतिवद्धता कम्पनीले व्यक्त गरेको छ।