• २०८३ असार ३२
  • 2026 July 16, Thursday

फेरि घट्यो वाणिज्य बैंकहरूको ब्याजदर

काठमाडौँ। नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनका लागि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर फेरि घटेको छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता, कर्जाको कमजोर माग र निरन्तर बढ्दो निक्षेपका कारण २० वाणिज्य बैंकहरूको साउनका लागि तय भएको औसत ब्याजदर घटेको हो।

बैंकहरूले सार्वजनिक विवरण अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर असारको ४.२५ प्रतिशतबाट घटेर साउनमा ४.१६ प्रतिशत मा झरेको छ। यसबाट एक महिनामै औसत ब्याजदर करिब ०.०९ प्रतिशत बिन्दुले घटेको देखिन्छ। त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि असारको ३.१८ प्रतिशतबाट घटेर ३.११ प्रतिशतमा कायम भएको छ।

यसपटक ब्याजदर घटाउने बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.७५ प्रतिशतबाट ४ प्रतिशतमा झार्दै ०.७५ प्रतिशत बिन्दुको कटौती गरेको छ। संस्थागत निक्षेपतर्फ पनि बैंकले ब्याजदर ४ प्रतिशतबाट ३ प्रतिशतमा झार्दै १ प्रतिशत बिन्दुले कम गरेको छ।

ग्लोबल आइएमई बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदर ४.५० प्रतिशतबाट ४ प्रतिशतमा झार्दै ०.५० प्रतिशत बिन्दुले घटाएको छ भने संस्थागत निक्षेपमा ३ प्रतिशतबाट २.७५ प्रतिशत कायम गरेको छ।

एनएमबि बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.७५ प्रतिशतबाट ४.५० प्रतिशतमा झार्दै ०.२५ प्रतिशत बिन्दुको कटौती गरेको छ। संस्थागत निक्षेपको ब्याजदर पनि ४ प्रतिशतबाट ३.५० प्रतिशतमा घटाइएको छ।

सिटिजन्स बैंक इन्टरनेशनलले व्यक्तिगत निक्षेपमा ०.१५ प्रतिशत बिन्दु र संस्थागत निक्षेपमा ०.५० प्रतिशत बिन्दुले ब्याजदर घटाउँदै क्रमशः ३.९५ प्रतिशत र ३ प्रतिशत कायम गरेको छ।

कुमारी बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ३.९१ प्रतिशतबाट ३.८५ प्रतिशतमा झारेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.९५ प्रतिशतबाट ३.८५ प्रतिशतमा घटाएको छ। दुवै बैंकले संस्थागत निक्षेपको ब्याजदर भने यथावत् राखेका छन्।

कृषि विकास बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर परिवर्तन नगरे पनि संस्थागत निक्षेपको ब्याजदर २.७८ प्रतिशतबाट सामान्य घटाएर २.७५ प्रतिशत कायम गरेको छ।

अधिकांश बैंकले ब्याजदर घटाउँदा वा स्थिर राख्दा नेपाल बैंक भने अपवाद बनेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.२५ प्रतिशतमै कायम राखेको छ भने संस्थागत निक्षेपको ब्याजदर ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्‍याएको छ। साउन महिनाका लागि वाणिज्य बैंकहरूमध्ये संस्थागत निक्षेपमा सबैभन्दा उच्च ब्याजदर नेपाल बैंकले नै प्रस्ताव गरेको छ।

साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर नबिल बैंक र प्रभु बैंकले उपलब्ध गराउने भएका छन्। दुवै बैंकले ४.५५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले पनि ४.५० प्रतिशत ब्याजदर कायम राखेका छन्।

यता व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याजदर कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ। यी दुवै बैंकले अधिकतम ३.८५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

यसपटक ब्याजदर यथावत् राख्ने बैंकहरूमा नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, एनआईसी एशिया बैंक र प्राइम कमर्सियल बैंक रहेका छन्।

बैंकहरूले रेमिट्यान्स मुद्दती खातामा भने व्यक्तिगत मुद्दती निक्षेपभन्दा १ प्रतिशत बिन्दुसम्म बढी ब्याज उपलब्ध गराउने व्यवस्था कायम राखेका छन्।

ब्याजदर निरन्तर घट्नुको प्रमुख कारण बैंकिङ प्रणालीमा रहेको उच्च तरलता र कर्जाको कमजोर माग हो। हाल बैंक तथा वित्तीय संस्थासँग कर्जा लगानी गर्न मिल्ने करिब १३ खर्ब रुपैयाँ बराबरको अतिरिक्त रकम रहेको बताइन्छ। पर्याप्त कर्जा माग नआएपछि बैंकहरूले ठूलो रकम नेपाल राष्ट्र बैंकमा २.५० देखि ३ प्रतिशत ब्याजदरमा निक्षेपका रूपमा राखिरहेका छन्।

हाल बैंक तथा वित्तीय संस्थाहरूले करिब ८२ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने त्यसमध्ये करिब ५९ खर्ब ३५ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी भएको छ।