• २०८३ असार ३२
  • 2026 July 16, Thursday

त्रिभुवन विश्वविद्यालयद्वारा समकक्षता दिन बन्द

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता दिन बन्द गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले बिहिबार एक सूचना जारी गर्दै उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने कार्यका लागि आवेदन नलिने जनाएको हो ।

केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ को दफा २८ ले विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ मा संशोधन गर्दै उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने कार्य विश्वविद्यालय अनुदान आयोगले गर्ने भन्ने व्यवस्था गरेको छ ।

यही कानुनी व्यवस्थाका कारण केन्द्रले समकक्षता प्रदान गर्न बन्द गरेको हो ।

योसँगै यही साउन १ देखि विदेशी विश्वविद्यालयबाट उच्चशिक्षा अध्ययन गरेका विद्यार्थीलाई विश्वविद्यालय अनुदान आयोगले समकक्षता प्रदान गर्ने छ ।

यस्तै, क्रेडिट ट्रान्सफर र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) को कार्य समेत आयोगबाटै हुने छ  ।

यद्यपि, त्रिभुवन विश्वविद्यालयबाट समकक्षता लिइसकेकाले भने आयोगबाट पुनः लिनुपर्ने छैन ।