काठमाडौँ । ब्राजिलका महान् फुटबल खेलाडी पेलेले सन् १९५८ को विश्वकप फाइनलमा लगाएको जर्सी अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ । यो फुटबल इतिहासमा लिलामीमा बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी हो ।
यसअघि अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपमा इङ्ग्ल्यान्डविरुद्धको चर्चित ‘ह्यान्ड अफ गड’ गोल गर्दा लगाएको जर्सी सबैभन्दा महँगो मूल्यमा बिक्री भएको थियो । उक्त जर्सी सन् २०२२ मा करिब ९५ लाख डलरमा लिलामी भएको थियो ।
पेलेको जर्सीका लागि पाँचभन्दा बढी सहभागीबाट १० वटा बोलकबोल परेको थियो । यही जर्सी सन् २००४ मा भने एक लाख पाँच हजार ६ सय अमेरिकी डलरमा बिक्री भएको थियो ।
पेलेले १७ वर्षको उमेरमा स्विडेनविरुद्धको सन् १९५८ को विश्वकप फाइनलमा दुई गोल गर्दै ब्राजिललाई पहिलो विश्वकप उपाधि दिलाएका थिए । उनी विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमानधारी पनि हुन् ।
सोही लिलामीमा म्याराडोनाले सन् १९८६ को विश्वकपमा कप्तानी गर्दा प्रयोग गरेको आर्मब्यान्ड पाँच लाख १२ हजार अमेरिकी डलरमा बिक्री भयो ।
त्यस्तै, सन् २०१७ मा बार्सिलोनाले पेरिस सेन्ट जर्मेनविरुद्ध च्याम्पियन्स लिगमा ६-१ को ऐतिहासिक पुनरागमन जित हासिल गर्दा लिओनल मेसीले लगाएको जर्सी दुई लाख १७ हजार ६ सय अमेरिकी डलरमा बिक्री भएको छ ।
साथै, डेभिड बेकह्यामले सन् २००२ को विश्वकपमा इङ्ग्ल्यान्डका लागि आफ्नो ५०औँ खेल खेल्दा लगाएको जर्सी ५१ हजार २ सय अमेरिकी डलरमा बिक्री भएको छ ।