• २०८३ साउन १
  • 2026 July 17, Friday

सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन संसद सचिवालयले निकाल्यो सूचना

काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार आर्थिक वर्ष २०८२/८३ समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् २०८३ साउन १ गतेदेखि २०८३ भदौ २९ गतेसम्म आफ्नो तथा परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सारित अवस्थासहितको अद्यावधिक विवरण बुझाउन सचिवालयले अनुरोध गरेको छ ।

सांसदहरूले सम्पत्ति विवरण सिलबन्दी खाममा राखी संघीय संसद् सचिवालय, संसद् सुविधा व्यवस्थापन शाखा (भवन नं. १, कोठा नं. २०७) मा दर्ता गराउन भनिएको छ ।

सम्पत्ति विवरण फाराम संसद् सुविधा व्यवस्थापन शाखाबाट तथा www.parliament.gov.np वेबसाइटबाट पनि प्राप्त गर्न सकिने सचिवालयले जनाएको छ ।

सूचनामा सिलबन्दी खाममा नाम, लिङ्ग, कार्यालय, पद, प्रतिनिधिसभा सदस्यका हकमा जिल्ला/निर्वाचन क्षेत्र नम्बर, राष्ट्रियसभा सदस्यका हकमा निर्वाचित प्रदेश, स्थायी ठेगाना, मोबाइल नम्बर र इमेल उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।