काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउने उद्देश्यसहित कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा नेपाल बीमा प्राधिकरणका उच्च पदाधिकारीसँग बिहीबार छलफल गरेको छ।
बोर्डका अनुसार विश्वका विकसित पूँजी बजारमा संस्थागत लगानीकर्ताको उल्लेखनीय सहभागिताले बजारमा स्थायित्व, तरलता र जिम्मेवार लगानी संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ। नेपालमा व्यक्तिगत लगानीकर्ताको संख्या उल्लेखनीय रूपमा बढे पनि संस्थागत लगानीकर्ताको भूमिका अपेक्षाकृत कमजोर रहेको भन्दै आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उनीहरूको सहभागिता विस्तारलाई विशेष प्राथमिकता दिइएको बोर्डले जनाएको छ।
बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको उपस्थितिमा भएको छलफलमा सहभागी निकायहरूले हालको लगानी अवस्था, देखिएका समस्या तथा आवश्यक सुधारका विषयमा आफ्ना धारणा राखेका थिए। दीर्घकालीन वित्तीय स्रोत परिचालन, बजारको स्थायित्व, उचित मूल्य निर्धारण, तरलता वृद्धि तथा सुशासन प्रवर्द्धनका लागि संस्थागत लगानीकर्ताको सक्रिय र जिम्मेवार भूमिका आवश्यक रहेको विषयमा छलफल केन्द्रित भएको थियो।
छलफलका क्रममा अध्यक्ष भट्टले अबका दिनमा संस्थागत लगानीकर्ताले परम्परागत लगानी शैलीभन्दा अघि बढेर समयअनुकूल, विवेकपूर्ण र रणनीतिक लगानी पद्धति अपनाउनुपर्ने आवश्यकता औँल्याए। उनले पूँजी बजारमा संस्थागत लगानी बढाउन आवश्यक नीतिगत तथा नियामकीय सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको पनि बताए।बोर्डले संस्थागत लगानीकर्ताको दायरा विस्तार गर्दै पूँजी बजारलाई थप सन्तुलित, स्थिर र दिगो वित्तीय प्रणालीका रूपमा विकास गर्ने लक्ष्यसहित आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याइने जनाएको छ।