• २०८३ साउन ७
  • 2026 July 23, Thursday

आयात १६ प्रतिशत र निर्यात १३ प्रतिशतले बढ्दा २४ खर्ब नाघ्यो वैदेशिक व्यापार

काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ मा नेपालको वैदेशिक व्यापार हालसम्मकै उच्च स्तरमा पुगेको भए पनि आयात निर्यातभन्दा तीव्र गतिमा बढ्दा व्यापार घाटा थप विस्तार भएको छ। भन्सार विभागले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार गत आर्थिक वर्ष नेपालको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले वृद्धि भई २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ पुगेको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कुल व्यापार २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ रहेको थियो।

गत आर्थिक वर्षमा नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १६.२० प्रतिशत बढी हो। यससँगै नेपालको वार्षिक आयात पहिलो पटक २० खर्ब रुपैयाँ नाघेको छ। उपभोग्य वस्तु, औद्योगिक कच्चा पदार्थ, निर्माण तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित सामग्रीको उच्च मागले आयात विस्तारमा योगदान दिएको देखिन्छ।

निर्याततर्फ पनि सुधार देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा १३.८१ प्रतिशतले बढी हो। निर्यात वृद्धि भए पनि यसको गति आयातभन्दा सुस्त रहेकाले बाह्य व्यापारमा असन्तुलन कायम रहेको तथ्यांकले देखाएको छ।

यसको प्रत्यक्ष असर व्यापार घाटामा परेको छ। एक वर्षमा व्यापार घाटा १६.६३ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो घाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ थियो। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.९३ प्रतिशत पुगेको छ भने निर्यातको हिस्सा १३.३१ प्रतिशतबाट घटेर १३.०७ प्रतिशतमा सीमित भएको छ। आयात-निर्यात अनुपात पनि ६.५१ बाट बढेर ६.६५ पुगेको छ, अर्थात् नेपालले एक रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसा बराबरको वस्तु विदेशबाट आयात गरिरहेको छ।

तथ्यांकले नेपालको व्यापार संरचना अझै आयातमुखी रहेको देखाएको छ।

निर्यातमा सबैभन्दा ठूलो योगदान सोयाबिन तेलको रहेको छ। गत आर्थिक वर्षमा मात्रै १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। दोस्रो ठूलो निर्यात वस्तु अलैँची हो, जसको निर्यात एक वर्षमै ७ अर्ब ६८ करोड रुपैयाँबाट बढेर १२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। सोयाबिन तेल तेस्रो मुलुकबाट आयात गरी भारतमा पुनः निर्यात गरिने भएकाले समग्र निर्यात वृद्धिमा यसको उल्लेखनीय प्रभाव परेको देखिन्छ।

आयाततर्फ भने इन्धनको हिस्सा सबैभन्दा ठूलो छ। गत आर्थिक वर्षमा डिजेल आयातमा १ खर्ब ७२ अर्ब रुपैयाँ खर्च भएको छ। त्यसपछि कच्चा सोयाबिन तेल आयातमा ९८ अर्ब, पेट्रोलमा ७७ अर्ब २६ करोड र एलपी ग्यासमा ६० अर्ब २८ करोड रुपैयाँ विदेशिएको छ।

नेपालको व्यापारिक सम्बन्ध हेर्दा भारत र चीन प्रमुख साझेदारका रूपमा रहेका छन्। गत आर्थिक वर्षमा भारतबाट १२ खर्ब १० अर्ब रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट भारततर्फ २ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ। यसका कारण भारतसँग नेपालको व्यापार घाटा ९ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ। चीनबाट ४ खर्ब २५ अर्ब रुपैयाँको आयात हुँदा निर्यात केवल १ अर्ब ८९ करोड रुपैयाँ भएकाले चीनसँगको व्यापार घाटा ४ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा नेपालले कुल १३४ देशसँग व्यापार घाटा व्यहोरेको छ भने केवल २८ देशसँग मात्र व्यापार नाफा गरेको छ।