• २०८३ साउन ७
  • 2026 July 23, Thursday

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरुमा पनि अब विद्यार्थी संख्यामा कोटा

काठमाडौँ। विदेशी विश्वविद्यालयको सम्बन्धन लिई नेपालमा सञ्चालनरत कलेजहरुमा अबदेखि विद्यार्थीको संख्या तोकिने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले जारी गरेको विदेशी शैक्षिक कार्क्रयम (सञ्चालन र नियमन) नियमावली, २०८३ ले विदेशी सम्बन्धप्राप्त कलेजमहरुमा विद्यार्थीको कोटा निर्धारण गर्ने व्यवस्था गरेको हो ।

विदेशी विश्वविद्यालयको सम्बन्धन लिएका कलेजहरुमा पहिलो पल्ट विद्यार्थी संख्यामा तोक्न लागिएको हो ।

नियमावलीको नियम ३६ ले अनुगमन समितिको प्रतिवेदन र शिक्षण संस्थाको मौजुदा पूर्वाधारको आधारमा कार्यक्रमगत रूपमा विद्यार्थीको सङ्ख्या तोक्ने व्यवस्था गरेको हो । नियम ३६ को उपनियम १ मा भनिएको छ, ‘अनमुति प्राप्त शिक्षण संस्थालाई अनगुमन समितिको प्रतिवेदन र पूर्वाधारको अवस्थाका आधारमा मन्त्रालयले कार्यक्रमगत अधिकतम् भर्ना गर्न पाइने विद्यार्थीको संख्या निर्धारण गर्नेछ।’

नियमावलीमा ११ सदस्य अनुगमन, मूल्याङ्कन तथा सिफारिस समिति रहने उल्लेख छ । शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा रहने त्यस समितिको सदस्यहरुमा विश्वविद्यालय अनुदान आयोगका सचिव, विभिन्न विश्वविद्यायका शिक्षाध्यक्ष वा डीनमध्ये मन्त्रालयबाट मनोनित दुई जना, शिक्षण संथा सञ्चालकमध्ये मन्त्रालयबाट मनोनित एक जना, कानुन मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका सहसचिव, शिक्षा मन्त्रालयकै विद्यालय शिक्षा महाशाखाका सहसचिव तथा शिक्षा मन्त्रालयकै उच्च शिक्षा महाशाखाका सहसचिव सदस्य सचिवका रुपमा रहने उल्लेख छ ।

यसै समितिले नै विदेशी विश्वविद्यालयको सम्बन्धन कलेजहरुको सुपरीवेक्षण, मूल्याङ्कन र अनुगमन गर्ने गराउने परिकल्पना नियमावलीले गरेको छ । समितिले नै स्थलगत अनुगमन प्रतिवेदन र शिक्षण संस्थाको मौजुदा पूर्वाधारको आधारमा कार्यक्रमगत रूपमा विद्यार्थी सङ्ख्या तोकी भर्ना अनुमति प्रदान गर्नेछ ।

यस्तै, नियमावली त्यस्ता कलेजले मन्त्रालयको अनुमति प्राप्त गरेपछि मात्र विद्यार्थी भर्ना गर्नु पर्ने व्यवस्था समेत गरेको छ । नियमावलीको नियम ३६ को उपनियम ३ ले सो व्यवस्था गरेको हो ।

मन्त्रालयको भर्ना अनुमतिपत्र एक पटक प्राप्त गरेपछि सोही कार्यक्रमका लागि दुई वर्षसम्म अनुमति लिनु पर्ने छैन। तर, कलेजले भौतिक पूर्वाधार सुधार गरी निर्धारित विद्यार्थी सङ्ख्यामा पुनरावलोकन गर्न मन्त्रालय समक्ष निवेदन दिन सक्नेछ।

हाल नेपालमा उच्च शिक्षा अध्यापन गराउने निजी कलेजहरुमा शैक्षिक कार्यक्रमहरु अनुसार विद्यार्थीको संख्या निर्धारण हुँदै आएको भएपनि विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालन भइरहेका उच्च शिक्षा अध्यापन गराउने कलेजहरुमा भने सो व्यवस्था गरिएको थिएन् । नियमावलीले विद्यार्थी संख्या निधारण गरिने स्पष्ट व्यवस्था गरेसँगै अब विदेशी सम्बन्धन लिई सञ्चालनरत कलेजहरुमा विद्यार्थी सिट संख्या नियमनको दायराभित्र आउने भएको हो ।