काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले ‘कनेक्ट विथ द इन्डियन एम्बेसी’ (Connect with the Indian Embassy) कार्यक्रमअन्तर्गत काठमाडौँका ५० जना विद्यार्थीहरूलाई दूतावासको अवलोकन भ्रमण गराएको छ।
दूतावासमा आयोजित विशेष कार्यक्रममा काठमाडौँका प्रतिष्ठित पाँच विद्यालयहरू– @davnepal, @MISCBSE, @thechandbagh, @AlokVidyashram र @raischoolktm का कक्षा ११ र १२ मा अध्ययनरत ५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
भ्रमणका क्रममा विद्यार्थीहरूले भारतीय सांस्कृतिक केन्द्र (ICCR) लगायत दूतावासका विभिन्न शाखाहरूको प्रत्यक्ष अवलोकन गरेका थिए। सो अवसरमा उनीहरूलाई दूतावासको कार्यप्रणाली र कूटनीतिक नियोगले गर्ने कामहरूका बारेमा विस्तृत जानकारी गराइएको थियो।
कार्यक्रममा दूतावासका नियोग उपप्रमुखले विद्यार्थीहरूलाई नेपाल र भारतबीचको ऐतिहासिक एवं जनस्तरको सम्बन्धका विविध पक्षबारे प्रकाश पारेका थिए। भ्रमणको मुख्य आकर्षणको रूपमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग विद्यार्थीहरूको अन्तरक्रियात्मक छलफल भएको थियो। छलफलमा विद्यार्थीहरूले कूटनीति र दुई देशबीचको सहकार्यका विषयमा जिज्ञासा राखेका थिए।
युवा पुस्तालाई दूतावासको कार्यप्रणालीबारे प्रत्यक्ष अनुभव र बुझाइ प्रदान गर्ने उद्देश्यले यो पहल सुरु गरिएको दूतावासले जनाएको छ। भारतीय दूतावासले आगामी दिनमा यस कार्यक्रमलाई निरन्तरता दिँदै नेपालभरिका थप विद्यालयहरूसँग जोडिने र यस्ता शैक्षिक भ्रमणहरू आयोजना गर्ने लक्ष्य राखेको छ।
