काठमाडौँ। नेपाल बीमा प्राधिकरणले बीमा दाबी व्यवस्थापन प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी, प्रभावकारी र प्रविधिमैत्री बनाउन सबै इजाजतप्राप्त बीमा कम्पनीलाई डिजिटल ट्र्याकिङ प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ। प्राधिकरणले २०८३ साउन ७ गतेको निर्णयअनुसार सबै बीमकलाई तीन महिनाभित्र यस्तो प्रणाली तयार गरी कार्यान्वयनमा ल्याउन भनेको हो।
नयाँ व्यवस्थाअनुसार बीमितले दाबीको सूचना बीमा कम्पनीलाई दिएको समयदेखि अन्तिम दाबी भुक्तानी नहुँदासम्मको सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाट वास्तविक समयमा हेर्न सक्नेछन्। यस प्रणालीमार्फत दाबी कुन चरणमा पुगेको छ, आवश्यक कागजात पूरा भए वा नभएको अवस्था, प्रक्रिया कति अघि बढेको छ तथा भुक्तानीको प्रगति जस्ता विवरण सहज रूपमा प्राप्त हुनेछन्।
नेपाल बीमा प्राधिकरणका अनुसार यो व्यवस्था बीमा दाबी प्रक्रियालाई थप व्यवस्थित र विश्वासयोग्य बनाउने उद्देश्यले ल्याइएको हो। डिजिटल ट्र्याकिङ प्रणाली लागू भएपछि बीमितले आफ्नो दाबीको अवस्थाबारे निरन्तर जानकारी पाउने भएकाले अनावश्यक अन्योल र जानकारीका लागि पटक-पटक बीमा कम्पनी धाउनुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ।
प्राधिकरणका उपनिर्देशक हृदयश्वर पण्डितका अनुसार बीमितको सुविधालाई प्राथमिकता दिँदै दाबी प्रक्रियालाई अझ सहज बनाउन यो प्रणाली लागू गर्न लागिएको हो। पछिल्लो समय बीमा दाबी प्रक्रियामा हुने ढिलाइ, झन्झट र पारदर्शिताको अभावबारे सरकारदेखि सर्वसाधारणसम्मबाट गुनासो आइरहेका बेला त्यसलाई सम्बोधन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनले बताएका छन्।
प्राधिकरणले यसअघि नै बीमितका गुनासो सुनुवाइ र सहजीकरणका लागि विभिन्न व्यवस्था लागू गरिसकेको उल्लेख गर्दै अब डिजिटल ट्र्याकिङ प्रणालीमार्फत दाबी व्यवस्थापनमा थप पारदर्शिता र जवाफदेहिता आउने विश्वास व्यक्त गरेको छ। नयाँ प्रणाली लागू भएपछि बीमा कम्पनीहरूले दाबी प्रक्रियाको प्रत्येक चरण डिजिटल रूपमा अद्यावधिक गर्नुपर्नेछ, जसबाट बीमितले आफ्नो दाबीको अवस्थाबारे कुनै पनि समयमा सहज रूपमा जानकारी लिन सक्नेछन्।