काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले घटनामा संलग्न दोषीलाई कानुनको दायरामा ल्याउन सम्बन्धित सरकारी निकायहरूले आवश्यक प्रक्रिया अघि बढाइरहेको पनि स्पष्ट पारेको छ । मन्त्रालयले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील, जीवनरक्षक तथा अत्यावश्यक सेवा भएकाले यसको नियमित प्रवाहमा कुनै अवरोध हुन नहुने उल्लेख गरेको छ ।
विज्ञप्तिमा नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्नुका साथै स्वास्थ्यकर्मीले सुरक्षित, सम्मानजनक र निर्भय वातावरणमा सेवा दिन पाउने अधिकार सुनिश्चित गर्नु राज्य र सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गरिएको छ ।
स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सा पेशाको गरिमा र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गरी निर्वाध रूपमा स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयले सबै अस्पतालसँग अपिल गरेको छ । त्यस्तै, स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन हुने वातावरण बनाउन सहयोग, सहजीकरण र समन्वय गरिदिन सम्बन्धित सबै निकायलाई पनि मन्त्रालयले आग्रह गरेको छ ।
नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा गरिएको तोडफोड तथा आन्दोलनका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।
संघले साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणको घटनामा संलग्नलाई कानुनअनुसार कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमै प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य, नारायणी शाखाका अध्यक्षसहित चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार गरिएको उल्लेख गरिएको छ । संघले उक्त घटनालाई अत्यन्तै गम्भीर भन्दै घोर भर्त्सना गरेको जनाएको छ।
टाउकोमा गम्भीर चोट लागेर घाइते भएका डा. प्रमोद रामसहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न संघले माग गरेको छ ।
यस्तै, चिकित्सकको मानमर्दन गर्ने कार्यमा संलग्न रहेको आरोप लगाउँदै पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखमाथि पनि कारबाही गर्न संघले सरकारसँग माग गरेको छ ।
राज्यबाट चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दमन भएको भन्दै त्यसको विरोधस्वरूप संघले आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको हो ।
संघले आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गरिने जनाएको छ। आन्दोलनमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार तथा आम नागरिकलाई साथ दिन आग्रह गर्दै यस आन्दोलनका कारण बिरामीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ । विज्ञप्तिमा बिरामीले भोग्नुपर्ने असुविधाको जिम्मेवारी नेपाल सरकार स्वयंले लिनुपर्ने पनि उल्लेख गरिएको छ ।