• २०८३ साउन १२
  • 2026 July 28, Tuesday

वित्तीय ठगी बढेको भन्दै बच्न यी संकेत समयमै चिन्न र सचेत रहन राष्ट्र बैंकको आग्रह

काठमाडौं। नेपाल राष्ट्र बैंक ले वित्तीय चेतनाका लागि जारी गरेको सन्देशमार्फत वित्तीय ठगीका संकेत (रेड फ्ल्याग) समयमै पहिचान गरी सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

राष्ट्र बैंकका अनुसार ठगी गर्ने व्यक्तिहरूले विश्वासिलो कथा तथा विभिन्न तरिका अपनाएर सर्वसाधारणको पैसा वा वित्तीय जानकारी चोर्ने प्रयास गर्छन्। नयाँ प्रविधि, नयाँ प्रकारका सेवा तथा बदलिँदो परिवेशसँगै ठगीका तरिकाहरू पनि परिवर्तन भइरहेका छन्। त्यसैले जो कोही पनि वित्तीय ठगीको शिकार बन्न सक्ने भएकाले समयमै ठगीका संकेत पहिचान गर्नु नै त्यसबाट बच्ने पहिलो कदम भएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले वित्तीय ठगीका प्रमुख संकेतहरू पनि सार्वजनिक गरेको छ। अपरिचित व्यक्ति वा संस्थाले लिंक वा एट्याचमेन्ट पठाएर खोल्न लगाउनु, सामान्य अवस्थाभन्दा फरक शैलीमा कुराकानी गर्दै पैसा पठाउन आग्रह गर्नु वा वित्तीय जानकारी माग्नु, पठाउनुपर्ने खाताभन्दा फरक वा अपरिचित खातामा रकम पठाउन लगाउनु, सामाजिक सञ्जाललाई मात्र सञ्चारको माध्यम बनाएर वित्तीय कारोबार गराउन खोज्नु वा Username, Password, PIN तथा OTP जस्ता गोप्य वित्तीय विवरण माग्नु ठगीका सम्भावित संकेत हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।

यसैगरी, तुरुन्तै कारोबार गर्न दबाब दिनु, नयाँ खाता वा नयाँ विवरण उपलब्ध गराउन अनुरोध गर्नु तथा कुनै जोखिम नरहेको दाबी गर्दै धेरै नाफा हुने आकर्षक प्रस्ताव गर्नु पनि वित्तीय ठगीका संकेत हुन सक्ने राष्ट्र बैंकको भनाइ छ।

राष्ट्र बैंकका अनुसार वित्तीय ठगीमा परेपछि पीडितले अन्जानमै आफैं पैसा पठाउने, Username, Password, PIN तथा OTP जस्ता वित्तीय विवरण चोरी हुने तथा मोबाइल वा अन्य उपकरणमा Remote Access वा Screen Sharing मार्फत ठगी गर्ने व्यक्तिले पहुँच स्थापित गरी वित्तीय साधन र व्यक्तिगत वित्तीय सूचनामा नियन्त्रण गर्न सक्ने जोखिम रहन्छ।

राष्ट्र बैंकले कुनै पनि वित्तीय कारोबारमा शङ्का लागेमा तत्काल कारोबार रोक्न, सम्बन्धित व्यक्ति वा संस्थाको आधिकारिकता जाँच गर्न तथा आवश्यक परे साइबर ब्यूरो, नेपाल प्रहरी, सम्बन्धित वित्तीय संस्था र नियामक निकायलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।