
पूर्वी अफ्रिकाकाे युगान्डामा बस्ने एक महिलालले ४४ सन्तान जन्माइसकेकी छिन् । उनले ४० वर्षको उमेरसम्म आइपुग्दा ४४ वच्चा जन्माएकी हुन् ।
एनवाई पोस्टका अनुसार ४४ सन्तान जन्माउने यी आमाको नाम मरियम नबातान्ज हो जो पूर्वी अफ्रिकाको युगान्डामा बस्छिन् । हाल उनी ४३ वर्षकी भइन् र उनले ४० वर्षको उमेरसम्म ४४ बच्चालाई जन्म दिइसकेकी छिन् ।
मरियमले एकपटक मात्रै एउटा बच्चा जन्माइनन् । उनले चार पटक जुम्ल्याहा, पाँच पटक तीनजना र चार पटक पाँच सन्तानलाई जन्म दिइन् । उनको ६ सन्तानको मृत्यु भइसकेको छ । अहिले जीवित ३८ बच्चामा २० छोरा र १८ छोरीहरु छन् । यी सन्तानलाई उनले एक्लै पालिरहेकी छिन् ।
मरियम १२ वर्षको हुँदा उनका आमा–बुवाले उनलाई विवाहको बहानामा बेचिदिएका थिए । १३ वर्षको उमेरमा उनले आफ्नो पहिलो सन्तानलाई जन्म दिएकी थिइन् ।
मरियमकाे डिम्बाशय असामान्य रुपमा ठूलो भएका कारण उनको शरीरमा हाइपर ओभ्युलेशन स्थिति थियाे । हाइपर ओभ्युलेट स्थिति वंशाणुपत हुन्छ । यो स्थितिमा अत्यधिक बच्चा जन्माउने सम्भावना थुप्रै गुणा बढ्ने गर्छ ।
युगान्डाको राजधानी कम्पालास्थित मुलगो अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. चार्ल्स किगगुन्ड्डुले मरियमको स्थितिबारे जानकारी दिएकी छिन् ।
उनले भनिन्, ‘मरियमको फर्टिलिटी असाध्यै धेरै थियो, यसैकारण उनले धेरै बच्चा जन्माइरहेकी थिइन् । मरियमको स्थितिमा कुनै पनि परिवार नियोजनका साधनले काम गर्दैन र यदि यस्तो गरेको भए पनि उनलाई गम्भीर रोगको खतरा पनि हुन सक्थ्यो । ’
यद्यपि, हाइपर ओभ्युलेशनको उपचार त छ तर युगान्डाको ग्रामिण इलाकामा ती प्रविधि सम्भव थिएन ।
यति धेरै बच्चा जन्मिएपछि मरियमका श्रीमान् सन् २०१६ मा घरबाट सबै पैसा लिएर भागेका थिए । त्यसै वर्ष उनले आफ्ना सबैभन्दा कान्छो छोरालाई जन्म दिएकी थिइन् ।
मरियम आफ्ना सन्तानसँग उत्तरी कम्पालाबाट ३१ मिल टाढा खेतले घेरेको एउटा गाउँमा बस्छिन् ।