
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
भेटघाटका लागि जियानचाओ नेतृत्वको प्रतिनिधिमण्डल बालकोटस्थित ओली निवास पुगेको थियो । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।
ओलीको सचिवालयका अनुसार खाना खाएर पनि वार्ता भएको थियो । उक्त वार्तामा नेपाल-चीन परम्परागत सम्बन्धबारे दुई पक्षबीच विचार आदानप्रदान भएको थियाे ।
लिउ र ओलीबीचको भेटवार्तामा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई र नेता विष्णु रिमाल पनि सहभागी थिए ।
नेपालको चार दिने भ्रमणका लागि जियानचाओ आइतबार काठमाडौं आएका थिए । काठमाडौं आएकै दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका उनले सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए ।